www.tandavnews.com
Fact ~ In search of truth

आलु उत्पादनका लागि भीरकोट पकेट क्षेत्र

स्याङ्जा ।

आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।

नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट नगरपालिकाका कृषि समिति संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र क्षेत्रीले बताए ।

Batas

‘आलु उत्पादनका दृष्टिले भीरकोट उर्वरभूमि पनि हो, निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेटक्षेत्र निर्धारण गरेर काम थालेका छौँ” संयोजक क्षेत्रीले भने, ‘पकेट क्षेत्रमा रहेका किसानले सामूहिक वा व्यक्तिगतरूपमा आलु लगाउने कार्य अहिले भइरहेको छ ।’

नगरपालिकाले १२ वटा आलु पकेट क्षेत्रका किसानलाई २० टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको संयोजक क्षेत्रीले बताए । किसानले उत्पादन गरेको बिउ आलु तथा खानका लागि उत्पादन गरिएको आलुको बिक्री वितरणको समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिने संयोजक क्षेत्रीले बताए ।

नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बिउ अनुदानमा वितरण गरेको हो । ‘आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्न सक्नुहुनेछ’, संयोजक क्षेत्रीले भने, ‘इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्न सक्नेछन् ।’

भीरकोट ५ को पकान फाँटमा बिउका लागि मात्रै करिब ३५ रोपनी क्षेत्रफलमा समूहमार्फत आलु लगाइएको किसान रामकृष्ण अर्यालले बताए । सोही ठाउँमा व्यक्तिगत र सामूहिकरूपमा आलु लगाउनका लागि पाँच वटा पकेट क्षेत्र रहेका छन् । करिब २०० किसानले सामूहिक र व्यक्तिगतरूपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेको किसान अर्यालले बताए

‘अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त हुनुहुन्छ”, किसान अर्यालले भने, ‘यहाँ शुद्ध बिउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।’ यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलु खनेपछि ‘आलु महोत्सव’ गर्ने र त्यहीँबाट आलुको खरिद बिक्री गर्ने व्यवस्था मिलाउने किसान अर्यालको भनाइ छ ।

भीरकोट–२ को दहफाँटमा पनि २८ रोपनी क्षेत्रफलमा सामूहिक र व्यक्तिगतरूपमा आलुखेती थालिएको छ । दहफाँटमा ९० किसानले २४ क्विन्टल आलु लगाउने भएका छन् ।

आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको नगरपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको दहफाँटका आलु खेतीमा संलग्न किसान मीनबहादुर अधिकारीले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.