www.tandavnews.com
Fact ~ In search of truth

बेँसी झरे भेडीगोठ

लमजुङ ।

चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् । गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिए। उनले भने,‘घलेगाउँको दुई भेडीगोठ रहेका छन् । यी भेडीगोठमा एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् ।’ हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

Batas

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ ।

जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ छ महिना लेकमा र छ महिना बेँसीमा रहन्छ । बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।’ त्यस्तै, भेडाको ऊन निकालिन्छ । केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ रहेका छन् । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी ३०० मूल्य रहेको छ । त्यस्तै, वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट आठ करोड आम्दानी हुने गरेको जनाइएको छ ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.