www.tandavnews.com
Fact ~ In search of truth

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुला

पोखरा ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय हिजो (मङ्गलबार)देखि खुला गरिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द संग्रहालय खुला गरिएको हो ।

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए । उनका अनुसार मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ । संग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपाली १००, सार्क २०० र बाह्य पर्यटकलाई ५०० र गार्डेनका लागि ३० को टिकट व्यवस्था गरिएको छ ।

Batas

संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण संघले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको संग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, ‘उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।’

कोरोना संक्रमण भए पनि लामो समयपछि भ्रमणका लागि पर्यटकीय नागरी पोखरा आएका आन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको जनाइएको छ। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.