www.tandavnews.com
Fact ~ In search of truth

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङ्टन ।

संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन् ।

Batas

मंगलबार सार्वजनिक पछिल्लो तथ्याँकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या २ लाख ६० हजार पुगिसकेको देखिएको छ भने १ करोड २५ लाख मानिस संक्रमित भएका छन् । चौबीस घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

अमेरिकी सरकारको ‘अपरेशन वार्प स्पीड’ का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको ४ करोड डोज उपलब्ध भइसक्ने बताएका छन ।

त्यस तथ्याँकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।

फाइजरको खोप निकै चिसो अर्थात माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ ।

पर्नाले सबै अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने पनि जानकारी दिए ।संघीय सरकारले कसलाई प्राथमिकता दिनु पर्ने भन्ने बारेमा सिफारिशहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहनेछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.