पोखरा,
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)का ३४ वर्षीया श्रीमती दिक्छेन डोल्मा लामालाई हेटौंडाबाट पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १२, पदमपोखरीबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा दिक्छेनलाई पक्राउ गरी मंगलबार राती कास्की ल्याईएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले ताण्डव न्यूजलाई जानकारी दिए ।
दिक्छेनले पोखरा महानगरपालिका १० रक्षामार्ग स्थित रोनित गुरुङको घरबाट बुद्धको मुर्ती, चाँदीका अम्खरा तथा बहुमुल्य वस्तुहरु चोरी गरी मकवानपुर पुगेको अनुसन्धानबाट खुलेको डिएसपी हमालले बताए । उनका अनुसार दिक्छेनलाई बुधबार डाकाचोरी कसुरमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।
‘वर्ष ३४ को दिक्छेन डोल्मा लामाले बुद्धको मुर्तीहरु अनि घरमा राखेको पुराना चाँदीका अम्खराहरु लिएर गएको भन्ने अनुसन्धानबाट आयो, डिएसपी हमालले भने, ‘त्यसपछि पक्राउ पुर्जी जारी गरी उता मकवानपुर प्रहरीसँग समन्यव गरेर मंगलबार राती ल्याएका छौ । हिजो चोरी कसुरको मुद्धा दर्ता गरी ७ दिनको म्याद थपेर अगाडि बढेका छौ ।’
कास्की प्रहरीले जाहेरी लिन नमानेको रहेछ :प्रदेश सांसद गुरुङ
दिक्छेन डोल्मा लामा विरुद्ध पोखरा महानगरपालिका १० का रोनित गुरुङले पेश गरेको जाहेरी कास्की प्रहरीले लिन नमानेको गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले बताए । ‘चोरी भएको रोनितको, उसले विचरा मुद्धा हाल्न नसकेर मलाई आएर भेटेको थियो । अनि कास्की प्रहरीले मुद्धा लिन नसकेको रैछ । किनभने सांसदको बुढी भयो रे, गुरुङले थपे, ‘अनि म आफै गएर एसपी श्रेष्ठलाई भनेर तुरुन्तै कारवाही गर्नुस अरेस्ट गर्नुस भनेर म आफै गएर लिएर आको हो ।’
सांसद गुरुङले केही दिन आफ्ना श्रीमतीलाई उक्त सामान फिर्ता गर्न समेत सुझाएको बताए । ‘चोरेर भागेछ दुईतिन दिन सम्झाको हो फिर्ता देउ भनेर, उनले भने, ‘अनि फेरी मकवानपुरको पदमपोखरी गुण्डागर्दी गर्ने ठाउँ, पुलिस छिर्न नसक्ने यिनिहरुले दिपक मनाङ्गे भनेर चिने थिएन त्यही भएर म आफै गएर समाएर ल्याएको हो । समात्ने काम त पुलिसको हो पुलिसको औकात नै नरैछ मैले देखे जानै डराउँछ । म आफै गको हो ।’
उनले अनियमितता, चोरी डकैती र बेथितीलाई प्रधानमन्त्री, मुख्यमन्त्री लयागत सबै कर्मचारीले आफ्नै घरबाट हटाउनुपर्ने तर्क दिए । ‘मलाई मनाङको जनताले जिताएको हो । मेरो छोराले बदमास गर्ने मेरो स्वास्नीले चोर्दै हिड्न पाईन्छ त अनी ?, उनले भने, ‘मैले रेस्पेक्ट गर्ने भनेको मनाङको जनतालाई हो छोरा र स्वास्नीलाई होईन । उनीहरुको केही योगदान नै छैन । केही दुखै गरेको छैन । उनीहरुले मेरो नाम कसरी बेच्न पाईन्छ ?’
प्रदेश सांसद गुरुङले आफ्नै सक्रियतामा श्रीमतीलाई पक्राउ गरेको बताउदै भने ‘यो उदाहरण हैन, कुनै पोलिटिकल माईलेजको लागि गरेको होईन । यो चाँही सबै नेताहरु, कर्मचारीहरुले गर्नुपर्छ, उनले थपे, ‘आजको दिनमा कर्मचारीहरुले जुन चोरीराछनी यो सब स्वास्नी र बच्चाहरुले गर्दा चोरेको हो सबैलाई जेलमा हाल्नुपर्छ ।’
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।