www.tandavnews.com
Fact ~ In search of truth

संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । संघीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित संघीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे ।

संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए । अर्को फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याए ।

Batas

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर संघीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गरे । उनले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।

संसद् अधिवेशन छिट्टै आह्वान हुने

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गरे । संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयन भएका बारेमा छलफल हुनुपर्ने बताउँदै उनले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानअनुसार हालसम्म कति कानून निर्माण भए भन्नेबारेमा समीक्षा गर्नुपर्ने बताउँदै भ्रष्टाचार निवारणका लागि संसद् र प्रदेशसभाले पनि आआफ्ना स्थानबाट पहल गर्न जरुरी रहेको धारणा व्यक्त गरे । सचिवालयका महासचिव डा भरतराज गौतमले संघीय संसद् र प्रदेशसभाबीच हुने अनुभव आदानप्रदानले संसद् सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा संघीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती, सूदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी तथा संघीय संसद् सचिवालयका उच्च अधिकारी सहभागी छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.