www.tandavnews.com
Fact ~ In search of truth

नाइजेरियामा बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

नाइजेरिया ।

नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन् ।

बोको हराम विरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको एएफपीलाई बताए ।

Batas

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा एवं भत्सर्ना गरेका छन । उनले ‘यी अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको छ’ भनेका छन् ।

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु छ जना गम्भीर अवस्थामा भेटिएको जानकारी दिए । उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला जघन्य आक्रमण गर्ने गरेकाले यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको दाबी गरे ।

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए ।

अरु आठ जना हराइरहेको र उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको हुन सक्ने पनि लिमानले बताए ।गत महिना पनि बोको हरामका लडाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको विभत्स हत्या गरेका थिए ।

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यो हिंसा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.