www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा काठमाडौंका स्थानीय तह

काठमाडौं । 

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्कोमा छन् ।

Batas

शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । ‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’, प्रमुख श्रेष्ठले भने । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ ।

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।

कीर्तिपुर नगरपालिकालले सङ्क्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुईचार दिन विद्यालयमा पढाइ शुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए । ‘जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ’, प्रमुख महर्जनले भने ।

कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । संक्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।

टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए । ‘हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ’, प्रमुख अधिकारीले भने । नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ । संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरी नसकेको नगरप्रवक्ता थुमराज केसीले बताए ।

गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ । जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.