www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको पर्खाइमा ‘गोरखाको लिगलिगकोट होमस्टे’ (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

नेपाल एकीकरणको ऐतिहासिक पृष्ठभुमि बोकेको महत्वपूर्ण ठाउँ हो गोरखाको पालुङटार नगरपालिका २, लिगलिगकोट । यस कोटलाई नेपाल एकीकरणको उद्गम थलोका रुपमा पनि मानिन्छ । समुद्री सतहदेखी १ हजार ४ सय मिटर उचाईमा अवस्थित यस ठाउँबाट ‘थ्रि–सिक्स्टी भ्यू’ देख्न सकिन्छ ।

गणेश हिमाल लगायतका मनोरम हिमश्रृङ्खलाका दृश्यहरु नजिकैबाट नियाल्न सकिन्छ । यसका साथै चौगो गढिमा फहराईरहने नेपालको झण्डाले झनै राष्ट्रप्रेमको पक्षमा उर्जा थप्छ ।

Batas

लिगलिगकोटमा द्रव्य शाहका सेनाले प्रयोग गरेका बङ्करलाई समेत देख्न सकिन्छ भने ५ सय वर्ष पुरानो दरबारको गारोहरु पनि अझै उस्तै रहेको छ । उक्त क्षेत्रबाट लिगलिगकोट खोल्लीगाउँ मात्रै देखिदैन अन्य जिल्लाका पर्यटकिय गाउँहरुलाई समेत देख्न सकिन्छ ।

शान्त तथा मनमोहक दृश्य देखिने र क्याम्पिङका लागि उक्त क्षेत्र उपयुक्त भएकाले पछिल्लो समय युवा पुस्ताको आर्कषण बढेको छ । पालुङटार नगरपालिकाको स्वामित्वमा रहेकोले उक्त ऐतिहासिक कोटको संरक्षण र सम्बद्र्धनमा नगरपालिकाले भुमिका खेल्दै आएको छ । भने कोटको परिसर भित्र क्याम्पिङ गर्न मनाही समेत गरिएको छ ।

लिगलिगकोट पुग्ने र एक रात बस्न चाहेका पाहुनाहरुका लागि लिगलिगकोटको काखैमा रहेको खोल्लीगाउँमा गत सातादेखी औपचारिक रुपमा होमस्टे सञ्चालनमा ल्याईएको छ । २० घर बढिमा होमस्टे सञ्चालन गर्ने उद्देश्य रहेपनि हाल ७ वटा घरमा मात्रै घरबास सुविधा सुचारु गरिएको छ ।

पारिवारिकमैत्री तथा शान्त वातावरणमा बस्न पाउने उक्त होमस्टेमा पाहुनाको लागि छुट्टै भवनको व्यवस्था गरिएको छ । स्थानिय अगुवा बेद बहादुर रानामगरको नेतृत्वमा सञ्चालन गरिएको होमस्टेको उक्त भवनहरु निर्माणमा अमेरिकामा रहेका बालकृष्ण शर्मा मरहट्टा र अमेरिकी नागरिक नताशा ओज्निकले सहयोग गरेका थिए ।

सो ठाउँमा मगर, ठकुरी तथा दलित समुदायको कला संस्कृति हेर्न पाईन्छ भने, स्थानिय स्तरमै उत्पादन भएका ढेडो, गुन्दु्रक, सागसब्जी लगायतको विषादीरहित खानाको स्वाद लिन पाईन्छ । तर होमस्टे सुरुवाती चरणमै भएकाले प्याकोजको शुल्क भने निर्धारण भएको छैन । उक्त लिगलिगकोट, खोल्ली गाउँसम्मै पक्की सडकखण्ड रहेकाले तनहुँको डुम्रे बजारदेखी सवारी साधनमा आधा घण्टाको समयावधीमै पुग्न सकिन्छ ।

ताण्डवकर्मी अर्जुन गाहा (सुशान्त) को लेन्सबाट हेरौ लिगलिगकोट :

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.