www.tandavnews.com
Fact ~ In search of truth

ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मंगलबार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।

नेकपा स्थायी कमिटीका सदस्यसमेत रहनुभएका गुरुङले भने, ‘यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।’ मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको दुई अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।

Batas

गुरुङले भने, ‘यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन ।’नेता गुरुङले अध्यक्ष बन्न मन लागे चार महिना पर्खने धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए । ‘जनताको जनादेश पाँच वर्षका लागि स्थायी सरकार हो । सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ’, उनले भने ।

पार्टी एकतालाई जोगाउन दुई अध्यक्ष ओली र प्रचण्डको महत्वपूर्ण योगदान रहने भए पनि नेतृत्व गर्छु भन्ने अरु नेता खिया लागिसकेकाले उनीहरुतिर फर्केर समस्याको समाधान नहुने उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भने, ‘प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठ्ने बताउनुभएको छ । यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतिमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन लागिसक्नुभयो ।’

मुख्यमन्त्री गुरुङले मंसिर २८ गते हुने स्थायी कमिटीको बैठकले पार्टी एकतालाई कायम राख्नुपर्ने बताए । दोस्रो र तेस्रो पुस्ताको नेतासँग त्यो क्षमता भएकाले स्थायी कमिटीले पार्टी एकताको मर्म र स्थायी सरकारको मर्मलाई बुझेर निर्णय गर्नसक्ने उनको भनाइ थियो । उनले अहिले राजतन्त्रको पक्षमा उठिरहेको आवाजको कुनै तुक नरहेको उल्लेख गर्दै भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र नभई अझै उन्नत खालको गणतन्त्र हो ।’

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतले समृद्धिका लागि सडकको विकास अनिवार्य रहेको बताए । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले सडकको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको यो सडक ७.१२१ किलोमिटर कालोपत्र हुने भएको छ । सडकको लागत २६ करोड २९ लाख छ हजार २२५ रहेको छ भने दुई वर्षभित्र सम्पन्न हुनेछ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.