www.tandavnews.com
Fact ~ In search of truth

बागलुङको बलेवा क्षेत्रमा प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत ।

पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्न थालिएको हो ।

Batas

प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका–१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो । प्याराग्लाइडिङ उडान (टेक अफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो ।

गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताए ।

बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने र बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरी दुईपटकसम्म सफल परीक्षण गरिसकिएको छ । बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमा समेत अवतरण गर्न सकिन्छ ।

हावाको वेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए । उनका अनुसार उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिनेछ । उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने उनले बताए ।

प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएपछि पर्वत र बाग्लुङको बलेवा क्षेत्रका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । यहाँ जानका लागि पर्वतको मालढुङ्गा वा कुश्मा–कैया अग्लो झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जी जम्प सञ्चालन भएको पुल तरेर पुग्न सकिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.