www.tandavnews.com
Fact ~ In search of truth

नेकपाका नेता कमानसिंह लामाको निधन, नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ भएको जनाइएको छ । विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०४८ को आमनिर्वाचनमा उहाँ जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

Batas

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवंगत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् ।

आज दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।’

अध्यक्ष दाहालले दिवंगत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् । सरकारका मन्त्री तथा नेकपाका केन्द्रीय एवं जिल्लाका नेताकार्यकर्ताले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेता लामाप्रति विभिन्न माध्यममार्फत शोक व्यक्त गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.