www.tandavnews.com
Fact ~ In search of truth

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान सुरु हुदैँ

काठमाडौं ।

कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ ।

आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

Batas

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मंसिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ ।

काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमको तयारी तीव्र

नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुनलागेको हो ।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिए ।

भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताए । निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.