www.tandavnews.com
Fact ~ In search of truth

नौ महिनापछि ढोरवाराही मन्दिर खुला

तनहुँ ।

तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताए ।

उनका अनुसार नगरपालिकाले मन्दिरमा बोका बलि दिएको छ । चैतबाट लकडाउन भएदेखि मन्दिर भक्तजनका लागि बन्द थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिर खुलाउने निर्णय गरेसँगै भक्तजनलाई खुला गरिएको उनले बताए । ‘मन्दिर बन्द भए पनि भक्तजन आइरहन्थ्ये, कतिले बीचमै बलि पनि दिएको देख्यौँ, तसर्थ खोल्ने निर्णय भयो’, वडाध्यक्ष श्रेष्ठले भने ।

Batas

वडा नं ९ बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरवाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।

पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतःघट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरवाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।

मन्दिरमा बडादशैँको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँ वर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर समेत मानिँदै आएको छ । हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् ।

ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.