www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मापदण्ड अपनाउँदै खुल्न थाले कास्कीका विद्यालय

कास्की ।

कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् । विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिए।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्देशनअनुरुप विद्यार्थीलाई भौतिकरुपमा नै विद्यालयमा उपस्थित गराई पठनपाठन शुरु गरिएको उनले बताए । कोरोनाका कारण लामो समयदेखि बालबच्चा घरमा नै रहँदा उनीहरूको पठनपाठनप्रति अभिभावकले चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै सुवेदीले बच्चालाई विद्यालय पठाउन थाले पनि उनीहरूको स्वास्थ्य सुरक्षाप्रति भने सबै सजग बनिरहेको बताए।

Batas

‘कक्षा ५ देखि माथिका विद्यार्थी प्रायः सबैजसो स्वास्थ्य सुरक्षाप्रति गम्भीर बन्दै माक्स, स्यानिटाइजर आदिको प्रयोग गर्ने गरेका छन्’, उनले भने, ‘तल्लो कक्षाका विद्यार्थीका लागि स्वास्थ्य मापदण्डको पालना, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गराउँदै पठनपाठन गर्न चुनौतीपूर्ण नै छ ।’

बाल्यावस्थाका कारण आफ्ना कापी, कलमसमेत खरिद गर्न नसक्ने उनीहरूका लागि माक्स, स्यानिटाइजर आदिको नियमित प्रयोग गराउनु चुनौती रहेको उनले बताए। पोखरा महानगरपालिकाभित्रका सरकारी तथा निजी सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु गरिएको महानगर पालिकाका शिक्षा महाशाखाप्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार महानगरपालिकाभित्र २०५ सरकारी र १७३ निजी विद्यालय सञ्चालनमा छन् ।

महानगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरेको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी तयार गरी त्यहीअनुरुप विद्यालय सञ्चालनमा ल्याएको प्रमुख आचार्यले जानकारी दिए ।

मोडालिटीअनुसार महानगरपालिकाले जारी गरेको कोभिड–१९, स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्यपूर्ण रुपमा पालना गर्दै विद्यालयको भौतिक अवस्था एवम् विद्यार्थी संख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्न सकिनेलगायत विषय समेटिएको छ ।

त्यस्तै एक सिफ्टमा दैनिक अधिकतम ४ घण्टा बढी समय कक्षा सञ्चालन नगर्ने, क्याम्पस सञ्चालनको हकमा कार्ययोजना तयार गरी महानगरपालिकाबाट स्वीकृत गराएर मात्रै सञ्चालन गर्नेलगायत विषय मोडालिटीमा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.