www.tandavnews.com
Fact ~ In search of truth

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

काठमाडौं ।

भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।

पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । ‘भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने,‘नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।’ उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ ।

Batas

केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथाइ भाउमात्र पाउँछन् । फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ ।‘भाउ त धेरै नै बढ्छ’, अध्यक्ष कार्कीले भने, ‘तर यति नै भन्न सकिँदैन । अलैँचीको हाहाकार नै हुने स्थिति थियो ।’

विगतमा पनि अलैँचीको भाउ भारतमा उत्पादन घटेकै कारण आएको थियो तर पछिल्ला वर्षमा भारतमा पुनः अलैँची उत्पादन हुन थालेकाले भाउ घटेको हो । अध्यक्ष कार्कीका अनुसार नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो । भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ । गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ ।

त्यसैले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली अलैँचीको माग उच्च छ । ‘पछिल्ला वर्षहरूमा नेपाली अलैँचीको भाउ एकदम बढेको छ । किसान आफैँले प्रशोधन गर्दासमेत सचेतना जनाउन थालेका छन्’, अध्यक्ष कार्कीले भने, ‘पछिल्लो समय त धेरै जिल्लामा उत्पादन हुन थालेपछि उत्पादन राम्रो भएको छ ।’ नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.