www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा ७२ लाख खर्चेर सात वटा पदमार्ग बन्दैँ

बागलुङ ।

कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मंसिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।

कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ ।

Batas

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

जिल्लाभर यो आर्थिक वर्षमा पदमार्गका लागि मात्रै ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ । मन्त्रालयले उक्त पदमार्गको लागि २० लाख बजेट विनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् ।

काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । १५ लाख खर्चेर यसै आवमा पदमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरीसम्म पदमार्ग निर्माणका लागि १० लाख बजेट विनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माइकास्थान पदमार्गका लागि १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि सात लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि पाँच लाख र कौडेडाँडा पदमार्गका लागि पाँच लाख बजेट छ ।

‘अब सबै योजनाको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौँ’, पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भने, ‘हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो ।’बागलुङमा १० वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले एक करोड २० लाख खर्चिने छ । गत वर्ष घरबास प्रर्वद्धनमा दुई करोड ८० लाख खर्च भएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गरेका थिए ।

अनुगमनपछि लम्सालले हल्ला चलेकोजस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकालाई सच्चिन आग्रह गरेको बताए । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागिसमेत बजेट विनियोजन गरेको छ । सबै बजेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।

“प्राविधिक लागत अनुमानसहित आउनु भनेर उपभोक्तालाई खबर आउँछ, लागत अनुमान मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने ?’, कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भने, ‘जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।’ मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.