www.tandavnews.com
Fact ~ In search of truth

स्ट्रीट फेस्टिवलले यस वर्ष पनि निरन्तरता पाउने, पुस १५ देखि तामझाम बिनै फेस्टिवल शुरु हुने

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा इङलिश न्यु एयरका बेला हुदैँ आइरहेको स्ट्रीट फेस्टिवलले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । २२ औँ स्ट्रीट फेस्टिवल यहि पुस १५ गतेदेखि सुरु हुने भएको रेष्टुरेन्ट एण्ट बार एसोसिएसन (रेवान)पोखराले जानकारी दिएको छ ।

विगतका वर्षहरुमा ५ दिन आयोजना हुदैँ आएको महोत्सव यस वर्ष ३ दिनसम्म मात्र आयोजना हुने भएको छ । महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने आयोजकले जनाएको छ । ।

Batas

विषम परिस्थिति भए पनि महोत्सवलाई निरन्तर दिन लागिएको आयोजकले जानकारी दिएको छ ।रेवानका अध्यक्ष लक्ष्मण बरालले भने,‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन’

कोभिड १९ को संक्रमणका कारण ९ महिनादेखि पर्यटनसँग सम्बन्धी कुनै गतिविधि हुन नसकेको कारण व्यवसाय चलायमान बनाउन आवश्यक रहेकाले महोत्सव आयोजना गरेको बरालले बताए ।

महोत्सवका संयोजक वसन्त गौतमले यस वर्ष पहिलेका वर्षहरुमा जस्तो तडकभडक र तामझाम नगरि कार्यक्रमलाई निरन्तरता मात्र दिने बताए । गौतमले भने‘ महोत्सवबाट हामीले पोखरा खुल्लै छ र पर्यटन व्यवसायी पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुहुन्छ भन्ने सन्देश दिन खोजेका हौँ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिएका छन् । विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा र भ्यू टावर पनि क्रमशः खुलाउन सरोकारवाला सकारात्मक भएको परिषद् अध्यक्ष भट्टराईले बताए ।

कोरोनाका कारण ९ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरु महोत्सवका कारण उत्साहित भएको र आन्तरिक पर्यटकको महोत्सवमा राम्रो उपस्थिती रहने आफुहरुको विश्वास रहेको रेवानका सल्लाहकार सुर्य भूजेलले बताए ।

यसवर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने, ३ बजेदेखि १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष नहुने भएको छ । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुने आयोजकको विश्वास रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.