www.tandavnews.com
Fact ~ In search of truth

मल्हमको खोजीमा मञ्जील : ‘पढेर ठूलो मान्छे बन्ने मन छ’

जीवन सुबेदी
पाेखरा, ताण्डव न्यूज । 

मञ्जील बिक अहिले ५ वर्षका भए । यो उमेर बुवाआमाको हात समाएर रमाउँदै विद्यालय जाने उमेर हो । तर उनका लागि विद्यालय जानु सपना जस्तै बनेको छ । उनलाई पनि अरु बालबालिका जस्तै बाबु आमाको हात समाएर विद्यालय जान मन लागेको छ । तर गरिवी र पारिवारिक समस्याका कारण विद्यालय जान चाहेर पनि पाएका छैनन् ।

उनकी ८ वर्षकी दिदी पनि छिन् । उनी न बोल्न सक्छीन् न त हिँड्न नै । उनमा मानसिक र शारिरिक अपाङ्गता छ । अपाङ्गता परिचयपत्र नहुँदा उनले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकेकी छैनन् ।

Batas

दिदीभाई दुबैले जन्म दिने आमाको साथ त पाईरहेका छन् तर कर्तव्य निर्वाह गर्नुपर्ने बुवाले अर्कै यूवतीसँग विवाह गरेर सम्पर्कविहिन भएपछिपछि उनीहरु बेसाहारा छन् । दिनहुँ बाबुको कुटपीटबाट घाउ लागेर खोटा बसेका दागहरु देखाउँदै मञ्जील भन्छन् “बाबाले धेरै पिट्नुभयो, ममीलाई पनि दिनदिनै रक्सी खाएर पिट्नुहुन्थ्यो” । आफूलाई स्कूल जाने रहर भएपनि जान नपाएको द्ुखेसो सुनाउँदै मञ्जील भन्छन् “पढेर ठूलो मान्छे बन्ने मन छ” ।

हाल कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ धम्पुस खानीगाउँ स्थित आफ्नो मामाघर नजिकैको छाप्रोमा बस्दै आएका यी दिदीभाई अहिले संरक्षकको खोजीमा छन् । मञ्जील र अपाङ्गता भएकी छोरी बोकेर २३ वर्षीया पार्वती विक अहिले सहयोगीहरुको खोजीमा भौँतारिँदै हिँडेकी छिन् ।

उसो त पार्वतीको पनि आफ्नै कथा छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण उनले १३ वर्षकै कलिलो उमेरमा जन्मघर छाड्नुप¥यो । कलिलो उमेरमै बिहे गरिदिने उनका अभिभावको पनि बाध्यता थियो । त्यहि भएर नै सामाजिक मुल्य मान्यता र कानून विपरित आफूभन्दा दोब्बर उमेरका गाउँ नजिकैका पुरुषसँग विवाह भयो उनको ।

बिवाह भएको दुई वर्षमै छोरी जन्माईन् पार्वतीले । तर पोषण र स्वास्थ्यको अभावमा गर्भावस्थादेखि नै छोरी राम्रोसँग हुर्कन सकिनन् । गर्भावस्थामै पोषणयुक्त खानपान र समय समयमा स्वास्थ्य जाँच गराउन नपाएकी पार्वतीले अपाङ्गता भएकी छोरी जन्माईन् ।

त्यसको करिब २ वर्ष पछि अर्थात् १७ वर्षको उमेरमा पार्वतीले छोरालाई जन्म दिईन् । १७ बर्षकै उमेरमा दुई सन्तानकी आमा बनिसकेकी पार्वतीलाई श्रीमान् र घर परिवारको साथ मिल्न छाड्यो ।  ज्याला मजदुरी गर्ने उनका श्रीमान् रातदिन रक्सी खाएर बरालिन थाले । लाउँ–लाउँ र खाउँखाउँ अवस्थाका लालाबालालाई के ख्वाएर पाल्ने ? पार्वतीलाई दिनहुँ यहि चिन्ता हुन थाल्यो । एकातिर गरीबीको मार, अर्कातिर लोग्नेको दिनरातको यातनाले बेचैन बनिन् पार्वती । पतिको यातना उनलाई खपिनसक्नु भयो । दिनहुँ रक्सीले मातिएर आएका श्रीमानको कुटाई सहनुसम्म सहिन् पार्वतीले ।

अँगेनामा पाक्दै गरेको तातो दाल शरीरमा खन्याईदिएको सम्झँदा अहिलेपनि उनको आङ सिरिङ्ग हुन्छ । तैपनि उनले आफ्नो भाग्य यस्तै भयो भन्ठानेर सकेसम्म सहेरै बसिन् ।  तर उनको सहनशीलताको फाईदा उठाउँदै उनका श्रीमान्ले अर्कै विहे गरेर सम्पर्कविहिन भए । त्यसपछि उनी फेरि माईतिकै शरणमा पुगिन् । तर माईतिको पनि आर्थिक अवस्था उस्तै दयनीय । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ धम्पुस स्थित खानीगाउँ माईतिमा हाल उनको बसोबास छ ।

उनकी ८ वर्षीया छोरीको मानसिक अवस्था सन्तुलनमा छैन । छोरालाई अहिलेसम्म स्कूल पठाउन सकेकी छैनन् । काम गर्नका लागि पनि अपाङ्ता भएकी छोरी छोडेर कतै जान नसकेको बताउँछिन पार्वती ।  आफ्ना यावत समस्याहरु लिएर उनी अन्नपूर्ण गाउँपालिका पनि पुगिन् । तर गाउँपालिका र वडाले पनि पटक पटक अनेक बहाना बनाएर फर्काईदिएको पार्वतीको गुनासो छ ।

पार्वतीलाई आफ्नो अधिकार, न्याय, कानून सबैसँग कुनै आशा छैन । छ त केवल आफ्ना दुई बालबालिकाको विहान बेलुकाको गासको चिन्ता ।

कोही मनकारी सहयोगी भेटिएर दुई बालबालिकाको लालनपालनको जिम्मा लगाउन पाए गिट्टी कुटेर भएपनि आफ्नो जीवन निर्वाह गर्थेँ भन्ने लागेको छ उनलाई । तर सहयोगी मनको खोजीमा भौँतारिँदै हिँड्दा पार्वतीको घाउमा मल्हम लगाईदिने मनकारी अहिलेसम्म फेला परेका छैनन् । त्यसोतः सहयोग गर्ने मानवीयता बोकेका व्यक्तिहरु पक्कै भेटिनेछन् भन्ने आशा चाहिँ मरेको छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.