www.tandavnews.com
Fact ~ In search of truth

सोरठी र मारुनी नाचको संरक्षणमा मगर समुदाय सक्रिय

पर्वत ।

साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन् । विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुङ्गाका वृद्धवृद्धादेखि युवायुवतीसम्म लागिपरेका हुन् ।

मगर समुदायको संस्कृतिका रूपमा रहे पनि पछिल्लो समय लोकप्रिय सोरठी र मारुनी नाच हराउँदै जान थालेको बेला घुरुङ्गाको समुदायमा यसको जगेर्ना गर्न थालिएको हो । मगर समुदायमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत सोरठी र मारुनी नृत्य नाचिन्छ भने पछिल्लो समय गाउँमा आएका पाहुनाको स्वागतका लागि पनि यो नृत्य प्रदर्शन गर्न थालिएको छ ।

Batas

सोरठी र मारुनी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको सोरठी समूह घुरुङ्गाका अध्यक्ष टेकबहादुर पुनले बताए । आफ्नो बाजेको पालादेखि चलेको सोरठी हराउँदै गएपछि अब नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ ।

सोरठी–मारुनी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य हो । छोटो नृत्य पनि लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गर्दछ । स्थानीय युवाहरु महिलाको पोशाकमा सजिएर नाच्ने गर्दछन् । सोरठी र मारुनी नृत्यमा महिला समूहमा बसेर गाउने र पुरुष नाच्ने गर्दछन् ।

गाउँका युवाहरू महिलाको पोशाकमा सजिएर महिलाजस्तै बनेर नाच्ने चलन छ । सोही कारणले नै यसको नाम मारुनी नाच रहन गएको स्थानीयवासीको भनाइ छ । मगर समुदायको संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि केही मात्रामा सहयोग गरेको मोदी गाउँपालिकाले जनाएको छ ।

यसअघि जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कको मगर समुदायमा पनि १०० वर्षपछि सोरठी र मारुनी नाच उजागर गरिएको थियो । स्थानीय युवायुवतीको सक्रियतामा उक्त गाउँमा पनि अहिले विभिन्न उत्सवमा प्रदर्शन गर्ने गरिएको स्थानीय यामबहादुर पाइजाले बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.