www.tandavnews.com
Fact ~ In search of truth

६० वर्ष उमेर पुगेका वास्तविक मजदूरलाई सञ्चय कोषमा रकम

संजय रेग्मी,

पर्वत /ताण्डव न्यूज ।

के तपाईँ मजदुर हो ? अनि तपाईँको घर पर्वतको जलजला गाउँपालिकामा पर्छ? अनि तपाईँ उमेरले ६० वर्ष पुग्नुभयो ? यसो हो भने अब तपाईँले सञ्चय कोषको सुविधा पाउनुहुनेछ । मजदुरहरुको समस्यालाई ध्यानमा राखेर जलजला गाउँपालिकाले मजदुरहरुले कमाएको केही रकममा गाउँपालिकाको तर्फबाट पनि थपेर सञ्चय कोषमा जम्मा गर्न लागिएको छ ।

Batas

दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवारलाई पाल्दै आएका मजदुरहरूले बुढेसकालमा काम गर्न नसक्दा आर्थिक समस्या परेकोले त्यो समस्या आउन नदिनका लागि सञ्चय कोषमा रकम जम्मा गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।

हामीले हाम्रा वरीपरी यस्ता कैयौँ व्यक्तिहरुलाई देखिरहेका छौँ । जसले नाडीमा बल छउन्जेल परिश्रम गरेर कमाउँदै खान्छ । बुढेसकालमा हात पाखुरा चल्न छाडेपछि औषधि समेत खान सक्दैन् । उसलाई दुःखको बेलामा माया गर्ने कोही पनि हुँदैन् । त्यस्तो नहोस्, बैङ्कमा भएको पैसाले कम्तीमा पनि बिहान बेलुका एक पेट आनन्दले खान पाओस् भनेर यो कार्यक्रम ल्याइएको हो ।’ उनले भने, ‘यो कार्यक्रम सुरु गर्नका लागि कार्यविधि निर्माण र त्यसको आवश्यक संशोधनको काम चलिरहेको छ । पहिलो चरणमा यसको प्रतिक्रिया हेरेपछि दोस्रो चरणमा ६० वर्ष नपुग्दैबाट पनि सञ्चय कोषमा पैसा जम्मा गर्ने काम हुन सक्छ ।’
कोष सञ्चालनको लागि कर्मचारी सञ्चय कोषसँग कुराकानी भइरहेको तथा सञ्चय कोषसँग सहकार्य हुन नसकेमा कुनै बैङ्कसँग सहकार्य गरेर पनि मजदुरको नाममा खाता खोल्ने गाउँपालिकाको तयारी छ । कार्यविधि अनुसार कोषमा संलग्न हुन चाहने मजदुरले एक महिनाको पाँच सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्नेछ भने पालिकाले पाँच सय रुपैयाँ थप गरेर प्रतिमहिना एक हजार रुपैयाँका दरले १२ महिनामा मजदुरको छ हजार र पालिकाको छ हजार गरी १२ हजार रुपैयाँ मजदुरको खातामा जम्मा हुने छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले पहिलो चरणमा एक परिवारको एक जनाका लागि मात्रै सञ्चय कोषको व्यवस्था गरिने र यसको प्रगतिको अवस्था हेरेर दोस्रो चरणमा परिवारका एक भन्दा बढी सदस्यका लागि पनि योजना लागु हुन सक्ने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.