www.tandavnews.com
Fact ~ In search of truth

अब के होला गण्डकी प्रदेश सरकार ? यस्तो छ संवैधानिक प्रावधान र अंकगणित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा चलिरहेका बेला नेपाली कांग्रेस संसदीय दल गण्डकीले अहिलेसम्म कुनै निर्णय नभएको बताएको छ ।

मंगलबार बसेको दलको बैठकले राजनीतिक घटनाक्रमको विरोध मात्र गर्ने भन्दै अहिले नै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी नभएको स्पष्ट पारेको हो । “कांग्रेस संसदीय दलले सरकार निर्माणमा सहभागिता जनाउने, अविश्वासको प्रस्ताव पेश गर्ने लगायत कुनै राजनीतिक निर्णय नगरेको जानकारी गराउँछौ” जारी विज्ञप्तिमा भनिएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे भने छलफल गरेको छ ।

Batas

प्रतिनिधिसभा विघटन गर्नु नेपाली जनताको स्थायी सरकार र विकासको लागि दिएको जनमतको अपमान र संविधानको ठाडो उल्लंघन भएको आरोप दलले लगाएको छ । बैठकले गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु भएपछि प्रदेसभासंसदबाट नै प्रतिनिधि सभा विघटनको विरोध गर्ने निर्णय भएको काँग्रेस गण्डकीका प्रवक्ता प्रकाशचन्द्र र दवाडीले बताए ।

यस्तो छ संवैधानिक प्रावधान

संविधानको धारा १ सय ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने भनिएको छ ।

मुख्यमन्त्रीले राख्ने त्यस प्रस्ताव बहुमतले पारित हुन नसके पदच्युत हुनुपर्छ । एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव पनि पेस गर्न सक्ने व्यवस्था संविधानमा छ । यो व्यवस्थालाई हेर्दा नेकपा विभाजन भए गण्डकी प्रदेशमा अर्को पक्षले अविश्वासको प्रस्ताव पनि पेस गर्न सक्छ ।

गण्डकी प्रदेशमा नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् । नेकपाको पक्षमा हालसम्म दुईतिहाइ बहुमत रहे पनि पार्टी फुटेमा गुरुङको सरकार अल्पमतमा पर्ने सम्भावना छ ।

अहिलेको समिकरण यस्तो छ

गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । ती मध्ये पूर्व एमालेबाट २८ जना, कांग्रेसका १५ जना, पूर्वमाओवादी केन्द्रका १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादीका २ जना सांसद रहेका छन् । सरकार निर्माणको समय मुख्यमन्त्री गुरुङलाई एमालेका २८ र माओवादीका १५ जना गरी ४३ जनाको समर्थन थियो । जनमोर्चाका ३ जना सांसदले उनलाई मुख्यमन्त्री बन्न साथ दिएका भए पनि उनीहरू प्रतिपक्षमा बसेका थिए ।

नेकपा विभाजन भएमा यो समीकरण बदलिने छ । मुख्यमन्त्रीलाई साबिकको एमालेका २८ जनामध्ये २७ जनाको मात्रै समर्थन रहने छ । किनभने एमालेबाटै सांसद बनेको भए पनि बागलुङका इन्द्रलाल सापकोटा नेपाल पक्षका नेता हुन् । पार्टी नै विभाजनको अवस्था आएमा उनी गुरुङको विपक्षमा रहने धेरैको अनुमान छ ।

३ जना सदस्य रहेको राष्ट्रिय जनमोर्चाको साथले गण्डकीमा निर्णायक भूमिका खेल्छ । यही कारण जनमोर्चा पर्ख र हेरको अवस्थामा छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.