www.tandavnews.com
Fact ~ In search of truth

१३ वर्षीय सहासिक ‘बन्जी जम्पर’ नीराजन अधिकारी

पर्वत
ताण्डव न्यूज ।

बन्जी जम्प गर्दा मानिसलाई जति आनन्द आउँछ त्यो भन्दा पहिले उसमा अथाहा सहास पनि चाहिन्छ । अरुले बन्जी जम्प गरेको देख्दा नै डराउने धेरै हुन्छन् । तर पर्वतको कुस्मा नगरपालिका ३ शंकरपोखरी घर भई सदरमुकाम कुस्मा बजारको पर्वत गुरुकुल एकेडेमीको कक्षा ७ मा पढ्दै आएका १३ वर्षीय निराजन अधिकारी सहासिक खेल रुचाउनेहरुको लागि उदाहरण बनेका छन् ।

‘द क्लिफ’ कम्पनीले दुई सय २८ मिटरको उचाइमा रहेको पुलबाट कालीगण्डकी नदीमा बनाएको बन्जी जम्पमा उनले हाम फाल्ने सहास बटुले । बन्जी जम्प सामान्यतया युवाहरूको रोजाइमा बढी पर्ने गरेको भए पनि पर्वतको बन्जीमा १५ वर्ष मुनिका बालबालिकाहरूले पनि साहसका साथ हाम फालिरहेका छन् । विद्यालय तहमा पढ्दै गरेका बालबालिकाहरूको रोजाइमा पनि साहसिक खेल परेपछि अभिभावकहरूले पनि सन्तानको चाहना पूरा गरिरहेका छन् । यसले बन्जी सञ्चालन गरिरहेको ‘द क्लिफ’ कम्पनीलाई पनि हौसाएको छ ।

Batas

निराजनका बुबाले सदरमुकाम कुस्मामै ‘नवीन होटल एण्ड लज’ सञ्चालन गर्दै आइरहेका छन् । बालबालिकाको मनोवैज्ञानिक पक्षमा ध्यान दिने बुबा जगननाथ अधिकारीले छोरालाई बन्जी जम्प गनर्च हौसाएका थिए । बुबाले दिएको सहासबाट नै निराजन बन्जीमा हौसिएका हुन् ।

प्रस्तुत छ निराजनसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईँलाई बन्जी जम्प गर्न किन मन लाग्यो ?

बाबाले नै बन्जी गर्न मन लागेको छ र ? भनेर सोध्नुभयो । अनि म जस्तै उमेर वरिपरिका साथीहरूले पनि गरेका छन् रे भन्ने सुनेको थिएँ । त्यसैले मलाई पनि केही नहुने रहेछ भन्ने लाग्यो। युटुवमा त बन्जी जम्प गरेको हरेको थिएँ । त्यहाँ हेर्दा रमाइलो पनि लागेको थियो । यस्तै गरी एक पटक हाम फालेर अनुभव लिन पाए हुन्थ्यो जस्तो लागेको थियो । यसैले पनि मलाई हाम फाल्न हौसायो । बन्जी जम्प गर्नका लागि विदेशदेखिका मान्छेहरू आउने गर्छन् । म यहीँको मान्छेले पनि आफ्नै जिल्लामा भएको यो रमाइलाको आनन्द किन नलिनु ? भन्ने लाग्यो र नै हाम फाल्ने साहस आयो ।

हाम फाल्दा कस्तो अनुभव भयो ?

हाम फाल्नका लागि डिलैमा पुग्दा डर लाग्यो। मेरो तौल कम भएका कारण बन्जीका मान्छेले अलि चर्कोसँग हाम फाल्नु है भनेर सिकाउँदै मलाई बिस्तारै पेल्दै पेल्दै छेवैमा लगिदिनुभयो । उहाँहरूले मलाई घुच्च्याउनु परेको भने थिएन। काउन्टडाउन दिएपछि म आफैले हाम फालेँ । पहिलो पटक बाउन्स नहुने बेलासम्म त मेरो दिमाग नै रित्तो भएको अनुभव भयो । जब बाउन्स भयो त्यो बेलामा त कालीगण्डकीको सतहमा यसरी नै रहन पाए भन्ने लाग्यो । तीन पटक बाउन्स भएपछि मेरो खुट्टामा बाँधिएको लक खोल्नुपर्ने भनिएकोमा मैले त बिर्सिएछु । लक खोल्नमा भन्दा झुन्डिएर यताउता गर्दै नदी र बन हेर्न आनन्द आयो । उनीहरूले माथिबाट बोलाएर लक खोल्न भनेका रहेछन् । तर नदीको आवाजले मैले त्यो सुन्न नै सकिन् । क्यामेराबाट भिडियो लिँदै गर्दा माथिबाट मलाई तान्ने डोरी आएको देखेँ ।

सानै उमेरमा धेरै बालबालिकाहरू डराउने हुन्छन् । तपाईँलाई डर किन लागेन ?

डर त किन नलाग्नु नि ? लाग्यो । पहिलो पटक तल पुग्ने बेलासम्म निकै डर लागेको थियो । तल पुगेर डोरीले पहिलो पटक बाउन्स गरेर मलाई माथि तान्यो। त्यसपछि भने बल्ल डर हरायो । आनन्द लाग्दै गएको थियो । डोरीमा बाउन्सको सङ्ख्या कम हुँदै जाँदा मलाई तान्नको लागि माथिबाट डोरी खस्यो। अब केही बेर नदीको सतहमाथि झुन्डिएर बस्न पाए हुन्थ्यो भन्ने बेलामा त माथि आउने बेला भइसकेको रहेछ । मलाई त हाम फालौँ क्यारे जे सुकै होस भन्ने लागेको थियो । डर भन्दा पनि बढी म भित्र उत्सुकता बढी थियो । त्यसैले आँट आयो ।

दुई सय २८ मिटरको उचाइमा रहेको पुलको डिलमा पुगेर तल कालीगण्डकी देख्दा कस्तो अनुभव भयो ?

डिलैमा पुग्दा डर लाग्यो। दायाँबायाँ हेर्न नै कस्तो भइरहेको थियो । मैले डर भगाउन स्वीङको डोरीमा भुण्डिएको लोडमा एकोहोरो भएर हेरिरहेँ । तल जाँदा कस्तो होला ? भन्ने लागेको थियो । तल पुगेपछि सुरक्षाका लागि माथि सिकाइएका कुराहरू बिर्सिएर म तलै भुण्डिएरै बस्नुपर्ने हो की ? भन्ने पनि लागेको थियो। हाम फाल्दा बित्तिकै त मेरो खुट्टामा डोरी बाँधिएको छ भन्ने कुरा नै बिर्सिएछु । हावामा ढुङ्गा फालेको जस्तै गरी म हाई स्पिडमा तल झर्दै थिएँ । हाम फाल्दा साथ चिच्याउँदै हात फैलाउँदै कालीगण्डकीको सतहतर्फ म जाँदै थिए । त्यो बेलामा रमाइलो भएर चिच्याएँ वा डरले चिच्याएँ मलाई नै थाहा भएन ।

बन्जी जम्प गर्दा के के कुरामा ध्यान दिनुपर्ने रहेछ ?

हाम फाल्ने बेलामा आफ्नो खुट्टा भन्दा पहिले टाउको र शरीरलाई ढल्काउँदै तल खस्नुपर्ने रहेछ । हाम फाल्ने बेलामा डर लाग्यो भनेर हामी झुन्डिने डोरीलाई समात्न नहुँदो रहेछ । तान्नका लागि जाने डोरी सजिलै चिन्नका लागि त्यसमा अलिकति लोड पनि पठाइने रहेछ । त्यो डोरी घाँटीमा पर्न सक्ने हुँदा त्यसलाई आफ्नो कम्मरमा टाई गर्ने बेलामा अलि ध्यान दिनुपर्ने रहेछ ।

यस्ता साहसिक खेलले तपाईँजस्तै साना उमेरका व्यक्तिहरूलाई कस्तो खालको जोस देला ?

मेरो मनभित्र म सुरो रहेछु । म डराउने मान्छे होइन रहेछु भन्ने लागेको छ । यसले मलाई जोस्याएको छ । म त्यत्रो उचाइबाट हाम फाल्न सक्ने रहेछु भने पढेर पनि अरूलाई जित्न किन सक्दिन होला ? भन्ने लागेको छ । अनि भविष्यमा पनि कुनै खालका साहसिक कामहरू गर्नु परेमा म त्यो पूरा गर्न सक्छु होला जस्तो लागेको छ । मेरा साथीहरूलाई बन्जीको बारेमा अनुभव बाँडेर उनीहरूलाई पनि त्यो जोस निकाल्न सक्छु भन्ने लागेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.