www.tandavnews.com
Fact ~ In search of truth

‘प्राविधिक ज्ञान हासील गरेको व्यक्ति बेरोजगार बस्नु पर्दैन’

जीवन सुवेदी
पोखरा,ताण्डव न्यूज ।

जुनसुकै देशमा विकासको आधारभूत ज्ञान प्राविधिक शिक्षा हो । तर नेपालमा अझैपनि प्राविधिक शिक्षाको महत्वबारे ध्यान दिएको पाईँदैन । सरोकारवाला सबैले यस विषयमा ध्यान दिन नसक्दा पोखरा महानगरभित्र सञ्चालनमा आएका प्राविधिक शिक्षालयहरुले लगानी अनुरुप जनशक्ति उत्पादन गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । प्राविधिक शिक्षा प्राप्त गरेका जनशक्तिले बेरोजगार बस्नुपर्ने अवस्था छैन तर विविध कारणले यो शिक्षाप्रति आकर्षण भने बढ्न सकेको छैन ।

पोखरामा बुधबार यहि विषयमा छलफल भयो । प्राविधिक विषयमा लगानी गरे अनुरुप शैक्षिक नीति र यसका चुनौतीबारे राज्यले ध्यान दिन नसकेको प्राविधिक विषय अध्यापन गराउने विद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरे । पोखरा महानगरको शहरी योजना आयोगमा ध्यानाकर्षण पत्र सहित पुगेका प्रधानाध्यापकहरुको टोलीले प्राविधिक शिक्षालयका चुनौतीहरुबारे अवगत गराएका हुन् । प्राविधिक विषय अध्ययनका लागि कक्षा ९ मै भर्ना हुनुपर्ने, कक्षा ११ मा भर्ना हुन नपाईने, विद्यार्थीहरुलाई ११ ओटा पिरियड पढ्नुपर्दा अप्ठेरो हुने गरेको, शिक्षा प्रशासनबाट चुनौतीबारे चासो नदिईएको जस्ता समस्या रहेको प्रधानाध्यापकहरुले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । नयाँ विषयका कक्षाहरु एसईई पछि मात्र हुने भन्ने बुझाई अभिभावकमा रहेको, सिटिईभिटी संग तुलना गरिएको, कक्षा ११ र १२ को पाठ्यक्रम जटिल रहेको, विद्यालयमा अनिवार्य छात्रावासमा बस्नुपर्ने लगायतका समस्या रहेको पत्रमा उल्लेख गरिएको छ ।

Batas

ध्यनाकर्षणपत्र ग्रहण गर्दै पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डा आर.सी लामिछानेले अहिले प्राविधिक शिक्षा अध्ययनका लागि निजि विद्यालयहरुमा लाखौँ खर्च गर्ने अभिभावकहरु सरकारले निशुल्क प्रदान गरेको शिक्षाप्रति आकर्षित हुन नसक्नु विडम्बना भएको बताए । यसमा सरोकारवाला सबैको ध्यान पुग्नुपर्ने उनको भनाई थियो ।

सोही क्रममा प्राविधिक शिक्षाको आकर्षण बढाउन अब महानगरले चाल्नुपर्ने कदमबारे पनि छलफल गरिएको थियो । छलफलमा शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, ब्रम्हरुपा माविका प्रधानाध्यापक जनार्दन सुवेदी, जनप्रिय माविका प्रधानाध्यापक देविप्रसाद बस्ताकोटी, महेन्द्र मावि भलामका प्रधानाध्यापक बोधराज पौडेल, र अम्बिका माविका प्रधानाध्यापक ओमप्रसाद पौडेल सहभागि थिए ।
नेपाल सरकारले २०७० साल देखि माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) साधारण धार सहित प्राविधिक शिक्षा सुरुवात गरेको थियो ।

हाल पोखरा महानगरपालिकामा रहेका जनप्रिय मावि सिमलचौरमा ओभरसियर (सिभिल ईन्जिनरिङ), शुक्रराज मावि पुम्दी पशु विज्ञान (एनिमल साईन्स), ब्रम्हरुपा मावि राजाको चौतारामा कम्प्यूटर इन्जिनियरिङ, महेन्द्र मावि भलाममा बनस्पती विज्ञान (प्लान्ट साईन्स), र अम्बिका मावि भेडावारीमा ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको पढाई हुँदै आएको छ । तर ती विद्यालयहरुप्रति आम अभिभावक र विद्यार्थीहरुको आकर्षण बढ्न नसक्दा सरकारको लगानी बालुवामा पानी जस्तै बनेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.