www.tandavnews.com
Fact ~ In search of truth

वडाहरुले खेप्दै आएको आर्थिक समस्या केही दिनमा समाधान हुन्छ:मेयर जिसी

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केहि दिनभित्रै समाधान हुने बताएका छन् ।
महालेखा कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सञ्चालनको अनुमति दिएकाले विगतको जस्तो समस्या नहुने मेयर जिसीले बताए ।

बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समिक्षा बैठकलाइ सम्बोधन गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए ।
उनले शुसासनको प्रत्याभूत हुने गरी काम गर्न वडा अध्यक्ष र सचिवहरुलाई आग्रह समेत गरे । जिसीले जन अपेक्षा अनुरुप काम गर्न वडा अध्यक्ष र सचिवहरुलाइ निर्देशन दिए ।

Batas

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाइ मात्र दोष दिन नहुने बताए । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै बरालले आगामी आर्थिक वर्षमा मागहरुको सुनुवाई गर्न सकिने बताए ।

कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष जनताको सेवा नै भएकाले एक भएर अगाडी बढ्नुपर्ने बरालले उल्लेख गरे । कतिपय अवस्थामा एउटा कर्मचारीले हेरिरहेको फाईल अरु कर्मचारीले हेर्न नमिल्ने भएकाले पनि विदा वा अन्य कुनै कारण कर्मचारी उपस्थित हुन नसक्ने अवस्थामा सेवाग्राहीको काममा ढिलाइ हुन सक्ने उनको भनाई थियो ।

पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डा. आर सी लामिछानेले विकास जहिलेपनि चलायमान हुने भएकाले भोलीका सन्ततीहरुले याद गर्ने किसिमको विकास आजको आवश्यकता भएको औँल्याए । त्यसका निमित्त सबै वडाहरुका समस्या सुन्नका लागि समीक्षा बैठकको अभ्यास गरिएको उनले बताए ।

पोखरा महानगरका कार्यपालिका सदस्य सन्तु सुबेदीले कर्मचारी बर्गले समयमै जनताको काम गर्नुपर्ने बताइन् । उनले भौतिक विकास मात्र नभई सामाजिक र मानवीय विकासका कुराहरुमा पनि ख्याल गर्नुपर्ने बताईन् ।

समीक्षा बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडा अध्यक्ष र सचिवहरुले चार महिनाको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरे । उनीहरुले आफ्नो वडामा निर्माण भईरहेका भौतिक पूर्वाधारका कामहरु बाटोघाटो, विजुली, खानेपानी, पुल पुलेसा विकास निर्माणका कामहरुबारे अवगत गराएका थिए । कोरोना भाईरस संक्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको उनीहरुको भनाई थियो ।

उनीहरुले वडाको विकास बजेट अपुग भएको, खाता सन्चासञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नु परेको गुनासो गरे । खासगरी गाउविकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरुले विकास बजेट थोरै भएको, जन अपेक्षा अनुसार काम हुन नसकेकोजस्ता समस्या सुनाएका थिए । पोखरा चुनावमा आँफूले गरेका बाचाहरु पूरा नहुने हुन् कि भन्ने चिन्ता बढ्न थालेको उनीहरुको भनाई थियो ।

शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सरोज कोईरालाले धन्यबाद मन्तव्य व्यक्त गरेका थिए भने सदस्य आर्किटेक्ट बाबुराम भण्डारीले सञ्चालन गरेका थिए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.