www.tandavnews.com
Fact ~ In search of truth

आँशु टिलपिलाउदै कप्तान अरुणाले भनिन्, ‘तपाईहरुको माया र सपोर्टलाई खेर जान दिन्न’

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने (एन.एस.जे.एफ) ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ अन्तर्गत पिपल्स च्वाईस विद्या तर्फ राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मनोनयमा परेपछि पोखरेलीहरु जिताउनका लागि समिति नै गठन गरी लागि परेका छन् ।

Batas

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीद्वारा हिजो (शनिबार) पोखरामा आयोजित ‘अरुणा शाही जिताउ अभियान’ शुभारम्भ कार्यक्रममा भोट अपिल गर्न अरुणालाई मञ्चमा निम्तो दिईयो ।

उनले मञ्चासिन र मञ्चबिमुख सबैलाई सम्बोधन गरिन् । ‘अरुणा शाही जिताउ अभियान’को माहौल सिर्जना गरेको भन्दै सुरुमै पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीलाई धन्यवाद प्रकट गरिन् । मुस्कुराउदै उनले आफ्ना गुरु कौशिला गुरुङको नाम पुकारिन् ।

त्यसपछि माता पितालाई स्मरण गर्दैगर्दा अरुणाको मुस्कान बिस्तारै सेलाउँदै गयो र गहँभरी आँशु टिलपिलाउन थाल्यो । केही बेर आँशु झर्छ अनि वक्य रोकियो । उनले त्यतिबेला सँघर्षका ‘अनटोल्ड स्टोरी’ मात्रै सम्झिएनन् । जन्म दिने माता र पितालाई समेत सम्झदै भाक्कानिए र भने, ‘मलाई यहाँसम्म ल्याईपुर्याउने आदरणिय सर म्याडमलाई धन्यवाद भन्न चाहान्छु । यो माया यो सपोर्टलाई कहिल्यै खेर जान दिन्न । आउँदो दिनहरुमा अझै राम्रो गर्दै जानेछु भन्ने प्रतिज्ञा गर्दछु ।’

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले अरुणालाई जिताउनका लागी आम पोखरेली मात्रै नभई गण्डकी प्रदेशबासी नै लाग्नुपर्ने बताए । शाही गण्डकी प्रदेशको मात्रै नभएर सिङ्गो नेपालकै लागि प्रतिनिधित्व गर्ने बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै नेपाल भलिबल संधका केन्द्रिय उपाध्यक्ष यम गुरुङले विगतमा मञ्जु गुरुङ, सिपौरा गुरुङ, परिक्षा गुरुङ र सरस्वती चौधरीलाई विजयी बनाएको स्मरण गर्दै यस वर्ष अरुणालाई जिताउन सोही अनुरुप कसरत गरेको बताए । उनले भलिबल प्रेमीको मात्रै सहयोगले नपुग्ने बताउदै आम नेपालीले भोट गर्नुपर्ने तर्क राखे ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्याम बहादुर थापाले आफ्नो संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको बताए । थापाले ‘अरुणा शाही जिताउ अभियानको थालनी गरेको बताउदै पहिलो दिनमै ३ लाख ८२ हजार ६ सय ५१ रुपैया संकलन भएको जानकारी दिए । उनले शाहीलाई जिताउनका लागि बैदेशिक रोजगारका लागि अन्य मुलुकमा रहेको नेपालीहरु समक्ष समेत सहयोगको अपिल गर्ने बताएका थिए ।

स्थायी घर म्याग्दी भएका शाहीले पाँचौ, छैटौ, सातौ र आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरादेखी खेलेकी थिईन् । त्यस्तै १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट कास्य पदक, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उनकै कप्तानीमा नेपाललाई रजत पदक दिलाएकी थिईन भने बङ्गलादेशमा सम्पन्न सेन्ट्रल जोन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् ।

‘पल्सर स्पोर्टस अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस विद्या तर्फ राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसँगै गौरिका सिंह (स्वीमिङ्), साबित्री भण्डारी (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) मन्डेकाजी श्रेष्ठ (कराँते) मनोनयमा परेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.