www.tandavnews.com
Fact ~ In search of truth

मुलकमा राजनीतिक कुरामा मात्रै चर्चा, छायाँमा वातावरण र जलवायु परिवर्तनका कुरा

पोखरा ।

नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफल भएको छ ।

छलफलमा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।

Batas

कार्यक्रममा सहभागी वक्ताहरुले मुलुकमा राजनीतिक कुराहरुको मात्रै चर्चा हुने गरेको उल्लेख गर्दै वातावरण र जलवायु परिवर्तनका कुरा छाया पर्ने गरेको बताए ।

सञ्चारमाध्यमहरुले पनि राजनीतिक विषयवस्तुलाई चासोका साथ प्रचारप्रसार गर्ने र जलवायु परिवर्तनका ईस्युलाई महत्व नदिनु दुखद भएको उनीहरुको गुनासो थियो । सरकारले पनि जलवायु परिवर्तन अन्तर्राष्ट्रिय मुद्धाको रुपमा लिनु मुख्य समस्या भएको उनीहरुको भनाई छ ।

कार्यक्रममा वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्य थिए ।

जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आआफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे । हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ्रे हिमाललाई प्रस्तुत गरे । हिउँविहीन बनेको उक्त हिमालमा कार्बोन डाइअक्साइड र ब्ल्याक कार्बोनले कति असर पारेको छ भन्ने विषयमा वक्ता अरनिको पाण्डेले बताए ।

‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र सवारी साधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’

उनले ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्ने जानकारी दिए । ती कार्बन २-४ दिनदेखि २-४ सातासम्म मात्र रहन्छ । जलवायु परिवर्तन एक दिनको तापक्रमसँग सम्बन्धित विषय नभई दशकौंदेखिको प्रक्रिया भएको अरनिकोले बताए । उनका अनुसार उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ । र, पृथ्वीका लागि खप्टिएको सिरक जस्तो बन्छ । त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ ।

जलवायु परिवर्तनले एन्टार्कटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उनले सुनाए । तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क थियोे । अरनिको वायुमण्डलीय विज्ञानका अध्येता हुन् ।

डा. महेश्वर ढकालले जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताए । उनका अनुसार सिर्जित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ । सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ।

उनका अनुसार नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रिय छ । नीतिगत र संरचनागत हिसाबमा पनि केही काम भएका छन् । तर देश संघीयतामा गएपछि नीति कार्यान्वयनका कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताए ।

वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलाई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ ।

त्यस्तै हाल नेपालका स्थानीय तहमा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उनको तर्क छ । ‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उनले भनिन्, ‘जङ्गल नासिएका छन् । एउटै ठाउँमा पुग्न दुईतीन वटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन् । एउटै वर्षापछि भत्किन्छ ।’

महेश्वर ढकालले भने छिमेकी राष्ट्रहरू भारत र चीनको जनसङ्ख्या, विकास र उत्पादक कार्यले पनि नेपाललाई असर पारिरहेको तर्क अघि सारे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.