www.tandavnews.com
Fact ~ In search of truth

युवाको अहोरात्र मानवसेवा

नारायण ढुङ्गाना
वीरगञ्ज,रासस ।

अर्घाखाँचीकी काव्य पोखरेल वीरगञ्जस्थित मावनसेवा आश्रममा भारतका मोहम्मद रजाक मियाको दाह्री/कपाल मिलाइदिँदैै थिइन् । उनको पारिवारिक स्पर्श पाउँदा सधैँ सडकमा फोहर टिपेर खाने मियाका लागि विहीबार विशेष नै बन्यो ।

सडकमा हिँड्दा मानिसले कतिपटक कुच्चिएको र मागेर खान खोज्दा गाली र तिरस्कृतमा परेको उनलाई सम्झना छ । फेरी उही समाजका केही व्यक्ति खुला आकाश मुनी रात विताउन विवश मानिसलाई टपक्क टिपेर स्याहार सुसारमा जुटिरहेका छन् । यसैको ज्वलन्त उदाहरण हो, आश्रमको युवा समुह ।

Batas

पोखरेलको परिवारिक ममताले औधी खुशी देखिएका मियाले मन्द मुस्कानका साथ भने, ‘बढिया’ । सानो छँदा बाढीले सबै परिवार बगाएपछि उनी एक्लिएर सडकमा आइपुगेका थिए । विक्षिप्त अवस्थाका उनी खुला सिमानाका कारण नाकाबाट नेपाल भित्रिएको बताइएको छ ।

वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडक मानवरहित क्षेत्र घोषणा गर्नु केही अघिको यहाँ यसरी बेवारिसे व्यक्तिलाई पारिवारिक माया प्रदान गर्न पोखरेल लगायत ४० जना युवा विहीबारसँगै थिए । यहाँका युवा देवेश गुप्ता, सानु गुरुङ, मुना लामा, सुरज कुशवाह, निरज पटेल, ओम झाजस्ता ३० जनाको युवा समूहको तीन वर्षको प्रयासको उपलब्धि सार्वजनिक हुँदै थियो ।

उनीहरु हरेक शनिबार जम्मा भएर मानवसेवाको सङ्कल्प गरी हप्ताभरी परिचालन हुन्थे । यसैको प्रतिफल स्वरुप महानगर सडक मानवरहित घोषणा हुँदै थियो ।

पोखरेलका लागि यहाँसम्म आइपुग्नुमा छुट्टै परिघटना छ । तीन वर्षदेखि सेवामा समर्पित भइ राष्ट्रिय उद्धार अभियानका क्रममा वीरगञ्ज आइपुगेकी पोखरेललाई २०७४ साल अघि ‘वेवारिसे व्यक्ति बाटोमा हुन्छन्’ भन्ने पनि थाहा थिएन ।

उनी एक दिन साथीले सडकमा पानी/विष्कुट बाँड्न जाउँ भन्दा मान्नु भएन । यसको दोस्रो हप्ता के रहेछ भनेर कुरो बुझ्न गइन्। त्यो बेला शुरुमा सडक सेवा (सडकका वेवारिसेका लागि आवश्यक सहयोग) हुने गरेको देखीन् । सहभागि युवाले मानवीय सेवामा समर्पित हुँदै वाचन गरेका प्रार्थनाका शब्दले उनको मन छोयो । प्रार्थनापछि सडकमा वेवारिसे व्यक्तिको सेवा गर्न अन्यसँगै उनी पनि समर्पित भइन् ।

“मलाइ लाग्थ्यो, मान्छेहरु आफु जस्तै त होला, तर त्यसदिन भेटिएकी दृष्टिविहिन पार्वती दिदी दिशा/पिशाव एकै ठाउँमा गर्नुहुन्थ्यो”, पोखरेलले अनुभव सुनाउँदै भनिन् , उनको अबस्था देखेर मन भक्कानियो, अनि सेवामा जुट्ने अठोट गरे ।” पहिलो दिन नयाँ मान्छेले सेवा गर्नुपर्ने सुनेपछि त्यसलाई स्वीकारेर पार्वती दिशापिशाव पखालेर सरसफाइमा जुटेको उनले अनुभव सुनाइन् ।

पोखरेलसँगै राष्ट्रिय उद्धार अभियान लिएर आइपुगेका ३५ जनाको युवा टोली मध्ये केहीले वीरगञ्जको सडकपेटीबाट ल्याइएका व्यक्तिको कपाल काटिदिए भने कोही नुहाइदिए । कसैले नङ् काटेर मिलाइदिए । कसैले तेल लगाइदिए । विभिन्न जिल्लाबाट भेला भएका ती युवा जमातले वीरगञ्जभरी सडक मानवको खोजी गर्दा विहिबार आठ व्यक्ति भेटिए । उनीहरु असक्त, मनोरोगी तथा पारिवारिक पीडाका कारण सडकमा आइपुगेका व्यक्ति थिए । उनीहरुलाई आश्रममा संरक्षण दिइएको छ । अहिले आश्रमका अभियानकर्मी होमनाथ तिमल्सिनासहित सुमा रावल, आदर्श ढकाल, सिर्जना ओली, सुमिरा लामा, मनोज घिमिरे, जमिर श्रेष्ठ पनि अभियानमा खटिएका छन् । यस्तै अन्य नव स्वयंसेवीहरु समेत सँगसैगै छन् । उनीहरु महिलालाई आमा र दिदी बहिनीको रुपमा र पुरुषलाई बुवा वा दाजुभाईको रुपमा व्यवहार गर्दै सेवा दिँदै आएका छन् ।

यसरी सडकमा सेवा गर्ने अधिकांश युवा करीब १५ देखि ३० वर्षका छन् । उनीहरु बेवारिसे, असक्त, सहयोगापेक्षी तथा मनोरोगी भएर सडकमा आश्रित व्यक्तिको सेवामा अहोरात्र खटिन्छन् ।

विसं २०६९ सालमा आश्रम स्थापना हुँदा रामजी अधिकारीको नेतृत्वमा शुसीला केसी, सुमन वतौँलालगायत युवाले नै मुलुकलाई असहाय सडकमानव रहित बनाउने सङ्कल्प बोकेर नौलो अभ्यास थालेका थिए । शुरुआती चरणमा अभियानलाई कसैले पत्याएनन् । गाउँमा गएर मुठी दान माग्दा घरघरबाट पानी खन्याएर लखेटेको अझै याद आउने अधिकारी स्मरण गर्छन् ।

“अहिले त समाजले बुझन् थालिसक्यो, सरकारको पनि ध्यान जान थालेको छ, उ बेला समाजले गरेको असामाजिक कार्य, शब्दमा भन्नै सकिँदैन, त्यसलाई आशिर्वाद सम्झेर सेवामा जुट्यौँ”, अधिकारीले भने ।

झण्डै दुई सय समर्पित युवाकै कारण पाँच हजार व्यक्तिको उद्धारपछि अहिले मुलुक नै सहयोगापेक्षी सडक मानवरहित बन्ने अबस्थातर्फ उन्मुख छ । देशव्यापी सडक सेवा अभियानमा उनी समाजका प्रेरणा बनेर उभिएका छन् ।

यही अभियानका क्रममा पछिल्लो हप्ता/दश दिन कै अन्तरालमा झापा जिल्ला, विराटनगर र वीरगञ्ज महानगरपालिकालाई सडकमा असक्त/असहाय मानिसमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा हुनु भनेको अब कहिल्यै सडकमा मानिस नआउने भन्ने होइन, सकेसम्म आउन नदिने र आएकालाई तत्काल उद्धार गरेर सेवा दिनु रहेको आश्रमले जनाएको छ । यसअघि विभिन्न जिल्लालाई असहाय सडक मानव रहित घोषणा गरिसकिएको छ ।

आगाम वर्ष मुलुकलाई नै बेसहारा सडकमानव रहित बनाउने सरकारी योजना साकार पार्ने धुनमा युवाहरु छन् ।

छोटो समयमै वीरगञ्जको उपलब्धि

तीन वर्षको छोटो समयमै वीरगञ्ज महानगरपालिका सहयोगापेक्षी सडकमानव रहित घोषणा गरिएको छ । राष्ट्रिय उद्धार अभियान अन्तरगत मेची महाकाली सडक यात्रामा निस्किएका मानवसेवा आश्रको टोली वीरगञ्ज आइपुगेका बेला विहीबार महानगरपालिकाले यसरी घोषणा गरेको हो ।

घोषणासभामा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले युवाको समर्पण भावले प्रभावित भएको बताए । प्रमुख सरावगीले थपे , “अब कोही पनि बेसहारा बनेर सडकमा अलपत्र बस्नुपर्ने अबस्थाको अन्त्य भएको छ, सडकमा कोही आइहाले पनि त्यसरी कष्ट सहेर बसिरहनु पर्ने छैन ।”

वीरगञ्जमा २०७४ जेठबाट यहाँ आश्रम स्थापना भएको हो । हाल यहाँ ५५ जना बेसहारा आश्रित छन् । केहीलाई उद्धारपछि परिवारमा मिलान समेत गराइसकिएको शाखा प्रमुख देवेश गुप्ताले बताए ।

उनले स्थानीय र सरकारी निकायको सहयोग तथा समन्वयले सडक मानवरहित बनाउन सम्भव भएको बताए ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.