पोखरा,
ताण्डव न्यूज ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले सिष्टम नै कोल्याप्स हुने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम चालेको बताएका छन् ।
पोखरामा आज ‘वृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सर्वसम्मतले अध्यक्ष र संसदीय दलको नेता बनाईएको केपी ओली विरुद्ध पार्टी भित्रैबाट घेराबन्दी गरिएपछि संसद भंग गरेर जनतामा जानु बाहेक अरु विकल्प नरहेको बताए ।

प्रधानमन्त्रीलाई सडकमा ल्याउन गरिएको प्रयास विफल भएपछि केही नेताहरु आँफै सडकमा पुगेको उनले बताए । मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीको लोकप्रियता बढेको देखेपछि आगामी दिनमा आफ्नो पालो नआउने हो कि भन्ने डरले नेताहरुमा पाप पलाएको समेत बताए । पार्टी एकताको म्यान्डेड विरुद्ध पार्टीभित्रै गुटबन्दी गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीलाई हटाउने खेल रचिएको उनको भनाई थियो ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री पद कसैले चाहँदैमा नपाईने भन्दै उनले महाधिवेशन र चुनाव कुर्न नसक्ने नेताहरुका कारण पार्टी एकता भङ्ग भएको दावी गरे ।
एक फरक प्रसंगमा मन्त्री रायमाझीले नेतृत्व गर्न नसक्नेसँग बसिरहन नसकिने बताए । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै रायमाझीले क्रान्ति सिकाउने गुरु मोहन वैद्य, विद्वान नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी योद्धा नेत्रविक्रम चन्द विप्लव जस्ता व्यक्तिहरुले समेत प्रचण्डलाई छाड्नुले नेतृत्वको असक्षमता पुष्टि हुने बताए ।
भुकम्प र नाकाबन्दीका बेला केपी शर्मा ओलीले छिमेकी मुलुकसँग लिएको अडान, चुनावका बेला ओलीको पक्षमा देखिएको जनलहरका कारण पार्टी भित्रैका नेताहरुलाई छट्पटी भएको समेत बताए ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी ईन्चार्ज पृथ्वी सुब्बा गुरुङ, नेताहरु खगराज अधिकारी, निवर्तमान खेलकूद मन्त्री जगत विश्वकर्मा सुनार लगायतले प्रधानमन्त्री ओलीको कदम जनताको पक्षमा भएको भन्दै बचाउ गरेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.