www.tandavnews.com
Fact ~ In search of truth

सडकले जोड्दै बागलुङको पर्यटकीय लेक घुम्टे

बागलुङ ।

पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ ।

गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो । करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको आठ लाख बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो ।

Batas

गत वर्ष संघको पर्यटन मन्त्रालयबाट आएको १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झंकबहादुर बस्नेतले बताए। चालु आर्थिक वर्षमा पनि सोही मन्त्रालयकै सात लाख बजेटबाट काम भइरहेको उनको भनाइ छ । ‘अहिले कडा चट्टानयुक्त पहरा परेकाले मार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुग हुने देखिएको छ’, अध्यक्ष बस्नेतले भने, ‘स्थानीयदेखि प्रदेश र संघ सरकारको थप सहयोग चाहिएको छ, बजेट भए सडक चाँडै बन्छ ।’

टेउवासम्म विसं २०६४ मै सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरैपछि बनेको हो । एकै वर्षमा सकिने काम भए पनि बजेटको सीमितताका कारण निर्माण अवधि लम्बिरहेको छ । दुई वर्ष लगाएर टेउवास्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो । त्यहाँदेखि अघि पहरा परेकाले बजेट पनि बढी लाग्ने भएको छ । उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्टे चढ्ने पर्यटकको यात्रा छोटिने छ । देउरालीभन्दा माथि भने झण्डै एक घण्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ ।

धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्याउने योजना छ । ‘पर्यटकलाई त यसै सुविधा हुन्छ, माथि धेरै संरचना बनाउनुपर्ने छ, गाडी पुग्यो भने सामग्री पुर्याउन पनि सहज हुन्छ’, अध्यक्ष बस्नेतले भने । यसअघि खच्चडलाई निर्माण सामग्री बोकाएर घुम्टेको शीरमा रहेका मन्दिर, पदमार्गलगायतका संरचना बनाइएको थियो । नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए ।

सडक सुविधा पुग्नासाथ घुम्टे चढ्ने पर्यटक-भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । उनका अनुसार घुम्टे पुग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिने छ । ‘हिँड्न रुचाउनेका लागि व्यवस्थित पदमार्ग बनेको छ, गाडीमा जानेले पनि केहीबेर पदयात्राको अनुभव सँगाल्न पाउँछन्’, वरिष्ठ उपाध्यक्ष थापाले भने । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक पदयात्राका सौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

पर्यटकलाई लक्ष्य गरी केही वर्षअघि टेउवा हुँदै घुम्टे जोड्ने पदमार्गसमेत निर्माण भइसकेको छ । गलकोट नगरपालिका–७ मल्म हुँदै जोड्ने अर्को पदमार्ग पनि अहिले निर्माणाधीन अवस्थामा छ । वडा नं १० पाण्डवखानी र ताराखोला गाउँपालिका–३ हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ । हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टे धार्मिक, प्राकृतिक एवं जैविक महत्वका दृष्टिले धनी छ । घुम्टेमा रहेका सिद्ध र भैरवको मन्दिरमा बर्सेनि वैशाखे पूर्णिमामा विशेष पूजाआजा हुन्छ । त्यहाँ भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ । मनोरम भू–बनोट, हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षक गन्तव्य मानिन्छ । बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि गलकोट पुगिन्छ ।

गलकोट हटियाबाट कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे चढिन्छ । घुम्टेलाई गन्तव्य बनाउँदा त्यस आसपासका पर्यटकीयस्थल गाईघाट झरना, गलकोट दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयसमेत घुम्न सकिन्छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.