www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा विद्युत् उत्पादन घट्यो

लमजुङ ।

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो ।

जिल्लाको बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्यार्ङदी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ । आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको मध्यमस्यार्ङदी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए ।

Batas

उनले भने, ‘आयोजनामा पूरै क्षमतामा विद्युत् उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत् उत्पादन घटेर २७-२८ मेगावाटसम्म पुग्नेछ ।’ मध्यमस्यार्ङदी ३५-३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

मध्यमस्यार्ङदी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मंसिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ ।

यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो । २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो ।

त्यस्तै जिल्लाकै दोस्रो ठूलो आयोजना मस्यार्ङदी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ ।

केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ । बर्सेनि विद्युत् उत्पादन झनै घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । यस आयोजनामा २५ मेगावाटसम्म विद्युत घट्ने गरेको छ ।

सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करिब  १६ अर्बमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ ।

यी ठूला आयोजनामा मात्र नभई जिल्लाका पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ । मध्यमस्यार्ङदी, माथिल्लो मस्यार्ङदी ‘ए’ र यी आयोजनाले बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई नै उज्यालो बनाउनका लागि टेवा पुर्याइरहेको छ ।

ती आयोजनामा विद्युत् उत्पादन कम हुँदा आर्थिकरूपमा पनि मुलुकमै प्रभाव पारेकोे देखिन्छ । जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने प्रक्रियामा छन् । निर्माणाधीन रहेका आयोजनामध्ये केही आयोजनाले केही महिनाभित्रै विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिरहेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.