www.tandavnews.com
Fact ~ In search of truth

९ महिनापछि खुलेका सिनेमा हलमा दर्शकको खडेरी

पोखरा
ताण्डव न्युज ।

९ महिनापछि खुलेका सिनेमा हलमा नयाँ फिल्म र दर्शकको खडेरी लागेको छ ।

पुस १० गतेबाट सिनेमा हल खुल्ने भनिएपनि मौफसलका हलहरु केही दिन ढिला सञ्चालनमा आए । तर, पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा दर्शकको उपस्थिति पट्यारलाग्दो देखियो । तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालक पुरानै फिल्म चलाउन बाध्य छन् ।

पोखरा मिडटाउन सिनेमाजका प्रोपटी म्यानेजर विपिन क्षेत्रीले दर्शकको संख्या अत्यन्त न्यून रहेको सुनाए । ‘हल सञ्चालनमा ल्याउने भनेर सुरुमा तीनवटा सिनेमा लियौ । तर दर्शकको उपस्थिति शून्य जस्तै रह्यो,’ उनले भने, ‘सेन्टिभाइरस फिल्ममा अलिअलि दर्शक आएपनि, आमा र अंग्रेजी फिल्म द इनभिजिवल म्यानमा दर्शक आएनन् ।’ दर्शक फिल्म हेर्न नआएपछि अहिले नाइट शोमात्र राखिएको उनले बताए । ‘केही दिन त दर्शक नआएर फिल्म नै देखाएनौं,’

उनले भने, ‘अहिले दिउँसको शोलाई हटाएर नाइट शो मात्र राखेका छौं । पुरानो फिल्म प्रदर्शन भएर दर्शक हलसम्म नआएको उनको आँकलन छ । ‘नयाँ फिल्म आएको छैन् । एकदुई हप्ता हेरौ, त्यसपछि कुनै नयाँ फिल्म रिलिज हुन्छ कि,’ उनले भने, ‘नयाँ फिल्म नआएसम्म अवस्था यस्तै हो ।’

क्युएफएक्स पोखरा सिनेप्लेक्सका म्यानेजर राजेन्द्र पुरीले पनि हल सञ्चालन गरेपनि दर्शक नआएको बताए । ‘फिल्म हल खुलेको छ भन्नेमात्र भएको छ । दर्शकको संख्या छैन,’ उनले भने, ‘दैनिक ३ शो देखाइएपनि दर्शको संख्या १० देखि १२ जना सम्म छ ।’ नयाँ फिल्म नआएसम्म दर्शकको चाप नबढ्ने उनको भनाई छ ।

माघ १ गते नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न पाउनेछन् । यो फिल्मले हलमा दर्शकको भीड ओराल्न सफल भए मात्र सिनेमा हललाई ठूलो राहत मिल्ने देखिन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.