www.tandavnews.com
Fact ~ In search of truth

नियन्त्रणमा लिइएको घाइते चितुवा मर्‍यो

बागलुङ ।

जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ ।

‘सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो’, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, ‘अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।’ घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका लागि सौराहास्थित वन्यजन्तु अस्पताल पठाउने तयारी गरिएको थियो ।

Batas

बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोसपार्ने औषधि नभएपछि सौराहा पठाउनुपर्ने अवस्था आएको थियो । औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको बताइएको छ ।

‘वन्यजन्तु भएकाले सामान्य रुपमा उपचार सम्भव थिएन्, बेहोस नभएसम्म उपचार गर्न सकिंदैन’, वन अधिकृत अधिकारीले भने । आइतबार बिहानैदेखि दिनभरी जैमिनी नगरपालिका–१ को कान्लेमा चितुवाले स्थानीयवासीलाई त्रसिद बनाएको थियो । स्थानीयवासीले खबर गरेपछि प्रहरी र सेना नियन्त्रणका लागि गएका थिए । आइतबार बेलुकी नियन्त्रणमा लिएर इलाका वन कार्यालयमा राखिएको उक्त चितुवा सोमबार डिभिजन वन कार्यालय बागलुङमा ल्याइएको थियो ।

खोरमा पारिएको चितुवालाई जीपमा राखेर बागलुङ ल्याइएको हो । वन अधिकृत अधिकारीका अनुसार, उक्त चितुवा घाइते र बिरामी छ । झण्डै ४ वर्षभन्दा बढी उमेर भइसकेकाले यो चितुवा वयस्क भइसकेको थियो । यो चितुवा अर्को वयस्कसँग झगडा गरेर वा लडेर घाइते भएको जस्तो देखिएको हो । उनका अनुसार २५ महिना पार गरेपछि चितुवा प्रजननका लागि योग्य हुन्छ । त्यसैले उक्त चितुवाले प्रजनन साथी खोज्ने क्रममा गाउँ आइपुगेको, दुई चितुवाबीच झगडा भएको हुनसक्ने अनुमान छ ।

चितुवाले मानिसलाई आक्रमण नगरे पनि आइतबार बिहानैदेखि बस्तीमा घुमिरहेपछि नियन्त्रणको प्रयास भएको थियो । कुश्मिसेरा इलाका वन कार्यालयका रेन्जर पोष्टका सन्तोष पौडेलको उपस्थितिमा सेनाले आइतबार बेलुकी ती चितुवालाई नियन्त्रणमा लिएर राखेको थियो ।

उक्त चितुवा समातेपछि पनि कुश्मिसेरावासीले अर्को समेत भेटिन सक्ने भन्दै खोजी गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.