www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा मोटर चल्ने तीन पुल निर्माण एकैसाथ शुरु

म्याग्दी ।

गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तीव्रता दिएका जानकारी दिए ।

Batas

‘गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्’, उनले भने, “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।’

मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुदै निस्कोट र मङ्गला गाउँपालिकाको अर्मन जोड्ने सडकअन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न रु चार करोड ४५ लाखमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । विसं २०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्षको छ ।

खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रवीण सापकोटाले पुलको जग राख्ने र खाडल खन्ने काम सकिएको बताए ।

मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रविधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान शुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिनासम्म छ ।

कार्यालयमार्फत मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले नौ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताए ।

यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनीयर अर्यालले बताए । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो ।

आठ दशमलव चार मिटर फराकिलो हुने सबै पुलको छ मिटरमा ढलान र दायाँबायाँ एक दशमलव दुई मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.