www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु

पर्वत ।

पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

Batas

बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ ।

केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार २० लाखबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायतका संरचना निर्माण गरिनेछ ।

उक्त संरचना आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताए। प्याराग्लाइडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ ।

प्याराग्लाइडिङको सम्भाव्यता र दृश्यावलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले २० लाख विनियोजन गरेसँगै पूर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेश सरकारले बिहादी गाउँपालिकासहित प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ ।

यसैबीच बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले मङ्गलबार प्याराग्लाइडिङ पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । भुसालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाइडिङले समग्र बिहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताए ।

बिहादी पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुसालले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । नियमित प्याराग्लाइडिङ उडान गर्नका लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अघि बढाउने उनले प्रतिबद्धता जाहेर गरे । यसअघि पर्वत सदरमुकाम कुश्माबजारसँगै रहेको बलेवामा पनि प्याराग्लाइडिङ पूर्वाधार निर्माण थालिएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.