www.tandavnews.com
Fact ~ In search of truth

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

काठमाडौं ।

मौसममा सुधार आएसँगै संघीय राजधानी काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मंगलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।

वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी (दृश्यता)पनि निकै कम रहेको थियो ।

Batas

आजदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ लगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाडौँलगायत केही स्थानमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताए । सो प्रणालीसँगै वायुमण्डलमा भएका धुलोका कण पनि केही हदसम्म स्थानान्तरण भएको उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार दुई दिन नेपालका विभिन्न शहरको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो । सामान्यतया नेपालका शहरहरुमा पहिले यो मौसममा वायु गुणस्तर सूची एयर क्वलिटी इन्डेक्स (एक्युआई) सरदर २०० भन्दा कम हुन्थ्यो तर सोमबार र मंगलबार भने काठमाडौँको ३३० र हेटौँडाको ४०० हाराहारी पुगेको विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

विश्वमा वायु प्रदूषणको मापनअनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि १०० सम्मलाई ठीकै र त्यसभन्दा माथिको स्तरले अस्वस्थ वातावरणलाई जनाउँदै जान्छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख सामस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा करीब पाँच गुणा माथि छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण करीब ३७ हजार जनाको मृत्यु भएको थियो ।

नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँट्टाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रुपमा देखा परेको छ ।

नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ । सरकारले मुलुककै जनघनत्व धेरै भएको काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषद्बाट गत फागुन १२ गते पारित गरिसकेको छ । सरोकारवाला सबै मिलेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने वातावरणविद्हरुको सुझाव छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.