www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा २४ प्रतिवादी फरार

लमजुङ ।

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् ।

आर्थिक वर्ष २०७५-२०७६ साउनदेखि चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना गरेका प्रतिवादी यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए ।

Batas

उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन् । अदालतका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार गत आव २०७६-२०७७ को एक वर्षका अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार थिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७५-२०७६ मा विभिन्न मुद्दाका ११ प्रतिवादी फरार थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी रहेको अदालतले जनाएको छ । फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाउँदै आए पनि सबै पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ ।

उनले भने, ‘ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्नेछ । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ ।’ आर्थिक वर्ष २०७७-२०७८ मा ३८ फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैद भुक्तान गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा १४ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।

गत आर्थिक वर्षमा ४० हजारदेखि १८ दिन कैद भुक्तानी गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रनि पुनले भने, ‘प्रहरी प्रशासन फरार प्रतिवादी पक्राउ गर्न लागिपरेको छ ।’ स्थानीयतह, स्थानीयवासी, जनप्रतिनिधि र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्न सकिने उनको भनाइ छ ।

जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि प्रतिवादी विभिन्न देशमा रोजगारीका लागि गइसकेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ । उनीहरु स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रनि पुनले बताए । उनले भने, ‘हामीले फरार रहेका प्रतिवादी ३०-३१ वर्षपछि समेत पक्राउ गरेका छौँ ।’ ढिलै भए पनि फरार व्यक्तिलाई कानूनी दायरामा ल्याउँदा पीडितले समेत केही राहत महसुस गरेको प्रहरीले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.