www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुको हुँकारः भनेको नमाने केपी ओलीको भलो हुँदैन

पोखरा,
ताण्डव न्यूज ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ।

प्रचण्ड–माधव समूहद्वारा गण्डकी प्रदेशको पोखरामा आज आयोजित बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ।

Batas

पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको उनको भनाई छ । त्यससमयमा माधव कुमार नेपालले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेको पनि प्रचण्डले खुलाए ।

प्रचण्डले आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको बताए । तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै आँफूहरुमाथि अविश्वास गर्न थालेको उनको भनाई थियो । माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले बाटो बिराएको टिप्पणी गरे । ओलीको हठले देशलाई अस्थिरतातर्फ उन्मुख गराएको भन्दै उनलाई सुधार्न हदैसम्म प्रयास भएको बताए । जति गरेपनि सुधार्न नसकिएको भन्दै अध्यक्ष नेपालले भने, बालुवा पेलेर तेल ननिस्कै जस्तै केपी ओलीलाई कहिल्यै सुधार्न नसकेको बताए । सोही प्रसंगमा नेपालले ओलीलाई गल्ती नस्वीकारे भलो नहुने चेतावनी समेत दिए ।केपी ओली सुरुदेखि नै गुटबन्दीमा लागेको भन्दै नेता नेपालले गुटबन्दी र अहंकार ओलीको पर्याय भएको अभिव्यक्ति दिए ।

सम्बोधनको सुरूदेखि ओलिप्रति आक्रोशित भएका नेपालले उनलाइ कम्युनिष्ट भन्नै नमिल्ने तर्क गरे । ३ वर्षमै पार्टीलाइ छिन्नभिन्न र निष्क्रिय बनाएको भन्दै कसैको कुरा नसुन्ने र बहस नगर्ने बानीप्रति नेपालले कडा आलोचना गरे । त्यस्तै, केपी ओली नेकपाको नभइ केपी फाउण्डेशनको अध्यक्ष भएको बताउँदै नेपालले सूर्य चिन्ह ल्याउने मान्छे माधवकुमार नेपाल भएको बताए ।

सोही भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटाउने डरले संसद विघटन गरेको आरोप लगाए ।

प्रधानमन्त्रीलाई संविधान बनाउँदा नै संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनले पार्टीभित्र छलफल बहस चलिरहेको बेलामा पदबाट हटाइन्छ कि भन्ने डरले प्रधानमन्त्री डराएको बताए । सोही डरका कारण प्रधानमन्त्रीले संसद विघटन गरेको उनको भनाई थियो ।

कम्युनिस्ट पार्टीभित्र छलफल र बहसलाई सामान्य रुपमा लिनुपर्नेमा ओलीले संविधानको हत्या गरेको प्रवक्ता श्रेष्ठको आरोप छ । प्रवक्ता श्रेष्ठले पार्टीभित्रको मुख्य समस्याको जड नै ओली भएको आरोप समेत लगाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.