www.tandavnews.com
Fact ~ In search of truth

देवघाटमा स्नान गर्न जानेको कमी

चितवन ।

पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको संख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए।

अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच लाखभन्दा बढी हुने गरेका थिए । यस वर्ष भक्तजन तीन लाख हाराहारी हुने अनुमान गरिएको उनले जानकारी दिए । देशभर र भारतबाट समेत भक्तजन स्नानका लागि यहाँ आउने गर्दछन् । बुधबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । कोरोना कहरका कारण यस वर्ष तीर्थालु भक्तजनको संख्यामा कमी आएको हो ।

Batas

निर्देशक घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला गरिएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उनले दिए । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गरेका छन् ।

आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुटेको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमांकन गरिएको छ ।

ज्योतिषशास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.