www.tandavnews.com
Fact ~ In search of truth

आज माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै, ढुंगेसाँघुमा मेला

पोखरा,
ताण्डव न्यूज ।

आज माघ महिनाको पहिलो दिन, माघे संक्रान्ति पर्व । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ ।

यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर यो पर्व मनाइँदैछ । आजको दिन मासको दाल र चामल मिसाएर घ्यूहालेर बनाइएको खिचडी पनि खाने चलन छ । चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरुको भनाइ छ ।

Batas

पोखराको चरक मेमोरियल अस्पतालका डा. बद्री पौडेलका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ । यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ । उनले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै संक्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिए ।

                                                                                        पोखराको ढुंगेसाँघु मेलामा राखिएको पसल

आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहुँ भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

यसैबीच पोखराको वडा नं १७ स्थित ढुंगेसाँघुमा ऐतिहासिक मेला लागेको छ । विहानैदेखि सुरु भएको मेलामा सेती नदी स्नान र घरायसी सामाग्रीहरु किनमेलका लागि सो स्थानमा मेला लाग्दै आएको छ ।

मेला भर्नका निमित्त कास्की मात्र नभई छिमेकी जिल्लाहरु तनहुँ, पर्वत, लमजुङ, स्याङजादेखि श्रद्धालु एवं दर्शकहरु आउने गर्दछन् । ढुंगेसाँघुको मेलामा हुने पुरानो चलन रातभर भजन किर्तन, दुई दिन एक रातको स्वस्थानि ब्रत को पुर्ण बिधि , रोइला लगायत अन्य गितको संस्कृति, मगर संस्कृति, नेवार संस्कृति, स्नान संस्कृति,खाद्द संस्कृति, पर्ब पुजा संस्कृति, बिशेष जात्रा पुजा संस्कृति, कन्या द्वारा होमन संस्कृति , हाट बजार संस्कृति लगायत बहु सांस्कृतिक मेला र जात्रा को रुपमा चिर परिचित मेलाको रुपमा परिचित रहेको छ ।

मेलामा कन्दमुल प्रतियोगित तथा प्रदर्शन, निःशुल्क कन्दमुल बितरण, कराते प्रतियोगिता, फरक फरक दुई स्थानमा, संकल्प दान, कुटो कोदालो डोको नाम्लो लगाएत घरेलु औजारको किनबेच हुने गर्दछ । स्थाीय सदाशिव हरिहर मन्दिर गुठी व्यवस्थापन समिति, सितापाईला आमा समूह, स्थानीय क्लबहरु, टोल विकास संस्थाहरुले मेलाको व्यवस्थापन गर्दै आएका छन् ।

                                                                    पोखराको ढुंगेसाँघु मेलामा ग्राहक कुर्दै व्यापारी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.