www.tandavnews.com
Fact ~ In search of truth

तीन लाख भक्तजनले देवघाटमा स्नान गरे

तनहुँ ।

माघे संक्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको संगम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरेको जानकारी दिए । कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

Batas

देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो । उनका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।

हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए । मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।

माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी सङ्गममा स्नान गर्थे ।

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.