www.tandavnews.com
Fact ~ In search of truth

कर्णालीवासीले मनाए नेपालमै कतै नमनाइने ‘छोरा’तिहार

डोल्पा ।

भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।

आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

Batas

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ ।

आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताए ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उनले बताए । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताए । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.