www.tandavnews.com
Fact ~ In search of truth

सामान लुट्न पोखरेली फोटोग्राफरलाई मोरङबाट निम्तो (घटनाक्रम सहित)

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पोखराबाट विराटनगर बोलाई क्यामेराका विभिन्न ग्याजेट्स चोरी गर्ने दुई व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरी चोरी कसुरमा मुद्धा दर्ता गरेको छ । फोटोग्राफी तथा भिडियोग्राफीका लागि निम्तो पाएका पोखरा २० का विमल कार्की र ९ का साजन खत्रीको लाखौको सामान चोरी गर्ने झापा अर्जुन धाराका अनुप ढकाल र सहयोगी २० वर्षीय साराशं भट्टराईलाई मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको हो ।

‘यो घटना गत २६ गतेको हो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले ताण्डव न्यूजसँग भने, ‘पोखराका भाईहरु त्यो घटना भएपछि हामीकहाँ आए, त्यसपछि हामीले चोरी गरेका दुई जनालाई खोजेर ल्यायौ र चोरी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेका छौ ।’

Batas

उनले उक्त घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताउदै उनीहरुको साथबाट क्यामेराका विभिन्न ग्याजेट्स बरामत गरेको बताए ।

उनका अनुसार उनीहरुको साथबाट ३ वटा क्यामरा, एउटा ड्रोन, १ थान ल्यापटप, ६ वटा मेमोरी कार्ड, ६ वटा क्यामरा ब्याट्री, ५ थान क्यामरा, ट्राईपोर्ड ६ सेट चार्जेबल ब्याट्री, ७ थान झोला, २ वटा माईक, लाइट ब्याट्री, १ थान रिफ्लेक्टर त्यस्तै ३ वटा पावर बैंक, २ वटा ट्रिगर २ र १ वटा लाईट बरामद गरेको छ ।

एसपी खड्काले चोरी भएका सामान उक्त केसको टुङ्गो लागिसकेपछि मात्रै खत्री र कार्कीले फिर्ता पाउने बताए । ‘अहिले केस अनुसन्धानमै छ । यो केसको किनारा भएपछि मात्रै उनीहरुले सामान फिर्ता पाउनेछन् ।’ एसपी खड्काले भने ।

‘निम्तोमा सौगात, स्वागतमा अनुप’

‘योर डिजिटल फोटो गुड्स सेन्टर’ सञ्चालन गर्दै आएका पोखरा महानगरपालिका २० का विपिन कार्कीलाई अपरिचित नम्बरबाट पेजमा फोन आउँछ । आफुलाई सौगात न्यौपाने बताउदै मोरङको बुढीगंगा गाउँपालिकामा ‘फेशन शो’ आयोजना भैरहेको जनाउदै कामको डील गर्छन् ।

विमललाई अडिशन राउण्ड सकिएको बताउदै सौगातले ट्यालेण्ट राउण्ड र ग्राण्ड फिनालेको ३ दिन फोटो र भिडियो कैद गर्न ३०/३० हजारको दरले कुल ६० हजारमा छिनोफानो गर्छन् । विमलले आफु भिडियो खिच्ने र पोखरा महानगरपालिका ९ का फ्रिलेन्सर साजन खत्रीलाई फोटो खिच्न भनि विराटनगर हानिने योजना बनाउँछन् ।

त्यो वार्तालापकै क्रममा विमलले कामको फिक्स गर्न एड्भान्सको कुरा गर्छन । निम्तो दिएका सौगातले प्लेन टिकटको आधा रकम (४ हजार) ईसेवा मार्फत पठाउछन् अनि विमल र साजन प्लेन मार्फत पोखरा– काठमाडौं – काठमाडौं – विराटनगर जान्छन् । विमल र साजनलाई लिन एयरपोर्टमा नीजि कार सेन्ट्रो लिएर सौगात न्यानो स्वागत गर्न आईपुग्छन् । फ्रन्ट सिटमा रहेका सौगातले विमल र साजनलाई पछाडि राखी बुक गरिएको बुढिगंगाको आर.एन होटल एण्ड लजको रुम नम्बर १ सय १४ मा लग्छन् र सामान राख्न लगाउँछन् । केही समय आराम गरिसकेपछि खान खुवाउन भनि सौगातले साजन र विमललाई ईटहरीको प्राइम होटल लैजान्छन् । जानु अगाडि एउटा साँचो विमललाई दिन्छन र अर्काे अतिरिक्त साँचो सौगाले राख्छन् ।

खाना खाने क्रममा सौगातले म अर्काे साथीलाई एयरपोर्ट लिन जान्छु भनि त्यहाँबाट सौगात उम्कन्छन् । समय बित्दै जान्छ । विमल र साजन सौगातको बाटो हेर्छन तर घण्टौ बित्छ नत सौगत आउँछन् नत फोन सम्पर्क नै हुन्छ । अन्तत, साजन र विमललाई संका पैदा हुन्छ र दुबैजना होटल फिर्किन्छन् । रुम नम्बर ११४ पुग्दा सामान देख्दैनन् र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पेश गर्छन । पक्राउ परेपछि उनीहरुलाई थाहा हुन्छ । सौगात न्यौपानेको असली नाम ‘अनुप ढकाल’ रहेछ ।

साजन र विमललाई मोरङ प्रहरीले आफ्नो सामाज चेकजाँच गर्न बोलाए पश्चात आज (शनिबार) उनीहरु मोरङ जादै छन् । ‘सामान कहिले पाउने भन्ने त थाहा छैन, पोखरेली फोटोग्राफर साजनले भने, ‘अहिले सामान सबै छ कि छैन बुभ्mन जादैछौ अहिले हेटौडा आईपुगेका छौ । त्यहाँ गएर सबै बुझ्छौ । अब चाँही अलि ढुक्क भएका छौ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.