www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा महिला हिंसाका ९० प्रतिशत उजुरी मिलापत्रमै सीमित

लमजुङ ।

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४/२०७५ देखि चालु आर्थिक वर्ष २०७७/०७८ को साउदेखि पुस महिनासम्ममा १८४ घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उनले बताए ।

Batas

त्यस्तै ४४ उजुरीको भने काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।’

त्यस्तै छ मात्र अदालती प्रक्रियामा गएको छ भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६१ घरेलु महिला हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । यी मध्ये ४५ उजुरी मिलापत्र भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । छ उजुरी अदालती प्रक्रियामा रहेको छ भने १० उजुरीको काम भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा १२ सो सम्बन्धी उजुरी परेको थियो । यीमध्ये नौ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाँकी तीन उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/२०७५ मा ७९ उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाह्र वटा अदालती प्रक्रियामा लगिएको थियो । बाइस वटा भने उजुरीपछि उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको, खान, लाउन दिएको पाइएको छ । यस प्रहरी कार्यालयमा घरेलु महिला हिंसाका ठाडो उजुरीसमेत आउने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि चालु आव को साउदेखि पुस महिनासम्ममा १९७ ठाडो उजुरी अर्थात् मौखिक उजुरी आएको प्रहरीले जनाएको छ ।

यीमध्ये पनि १४२ ठाडो उजुरी मिलापत्रमै सीमित बन्न पुगेको छ । पच्चीस उजुरी अदालती प्रक्रियामा अर्थात् मुद्दा दर्ता भएको छ भने ३० को काम भइरहेको केन्द्रले जनाएको छ ।

यी ठाडो उजुरी परेकामध्ये यस चालू आव को साउनदेखि पुस महिनासम्ममा १५ ठाडो उजुरी परेको छ । यीमध्ये ११ को मिलापत्र तथा एक अदालती प्रक्रियामा र तीनको काम भइरहेको जनाइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १८ ठाडो उजुरी परेकामध्ये ११ को मिलापत्र एकको अदालती प्रक्रिया तथा छको काम भइरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १२६ ठाडो उजुरी परेको थियो । प्रहरी कार्यालयको तथ्यांकअनुसार उक्त ठाडो उजुरीमध्ये ९१ को मिलापत्र भएको थियो भने २३ अदालती प्रक्रिया अर्थात् अदालतमा मुद्दा दर्ता भएको थियो । बाह्रठाडो उजुरीको काम भइरहेको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ३८ ठाडो उजुरी परेको थियो । यीमध्ये २९ को मिलापत्र भएको थियो भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । प्रहरी कार्यालयमा आएका उजुरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका सोसम्बन्धी उजुरीसमेत मिलापत्र नै हुने गरेको पाइन्छ । सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको न्यायिक समितिले जनाएको छ ।

पछिल्लो समयमा स्थानीय तहका न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको उक्त समितिले जनाएको छ । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको र्मस्याङदी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक होमबहादुर विकले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.