www.tandavnews.com
Fact ~ In search of truth

‘पाथर्दी पशु–कृषिमा नमुना गाउँ बन्नेछ’ : अर्थमन्त्री गुरुङ

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री किरण गुरुङले तनुहुँको पाथर्दी गाउँ (बोयर गाउँ) आधुनिक कृषि– पशुपालनको क्षेत्रबाट संसारकै नमुना गाउँ बन्न सक्ने बताएका छन् ।

Batas

भिमाद नगरपालिका ९ पाथर्दी सामुदायिक होम स्टेद्वारा मगर समुदायको मुख्य पर्व माघेसंक्रान्तीको अवसरमा आयोजित हाईकिङ कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले अहिले संचालनमा रहेको परियोजना सफल हुन सकेको खण्डमा नेपालको मात्र नभई संसारकै नमुना गाउँ बन्ने बताएका हुन् ।

मन्त्री गुरुङले पाथर्दी गाउँलाई केन्द्रमा राखेर गण्डकी प्रदेश सरकारको लगानीमा बोयर र खरी प्रजातीको बाख्रालाई ब्रिडिङ गरेर उन्नत जातको बाख्रा उत्पादन गर्ने परियोजना अगाडि बढिसकेको बताए । ‘यो सफल भयो भने गण्डकीको मात्रै नभई संसारकै गौरवको परियोजना हुनेछ, मन्त्री गुरुङले भने, ‘एक वटा नभई तीन वटा प्रजातीको निस्कियो भने संसारकै नमुना परियोजना हुनेछ ।’

उनले उक्त परियोजना दश वर्षे र महङ्गो परियोजना रहेको उल्लेख गर्दै भने, ‘यो करोडको होईन अरबौको परियोजना हो । यसमा तपाईहरुको पनि साथ चाहिन्छ, मन्त्री गुरुङले थपे ताउलोमा चामल राख्दैमा पाक्दैन, बोट रोप्दैमा फल्दैन यो त्यस्तै लामो परियोजना हो ।’ उनले उक्त गाउँ गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँको रुपमा समेत घोषणा भैसकेको स्मरण गराउदै पशुपालनसँगै आधुनिक कृषिमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले पाथर्दीमा रहेको ईलुङ झरनामा क्यानोनिङ सञ्चालन गर्न सकिने बताउदै शाहसिक खेल पर्यटनको विकासमा टेवा पुग्ने उल्लेख गरे । मन्त्री गुरुङले उक्त गाउँको परिचयको दायरा फराकिलो बनाउनका लागि मौलिक संस्कार –संकृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे । उनले उक्त क्षेत्रको विकास निर्माणको कामले समेत तिब्रता पाएको बताउदै सदैब आफ्नो तर्फबाट सहयोग गर्ने जनाएका थिए ।

त्यस्तै भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले ईलुङ झरनाको संरक्षणसँगै मगर समुदायको मौलिक कौराको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । उनले पर्यटकीय गतिविधिलाई बिस्तार गर्नका लागि होमस्टेसँगै अर्गानिक खाना तथा संस्कार–संकृतिले भुमिका खेल्ने बताउदै मेयर थापाले ईतिहासलाई मुल्याङकन गर्दै भावी दिनमा योजना बनाउन सुझाए ।

पाथर्दीको विकासमा सरकारको सहयोग मात्रै यथेष्ट नहुने उल्लेख गर्दै उनले प्रतिष्ठित तहमा पुगेका स्थानियहरुको समेत महत्वपूर्ण भुमिका रहने बताए । नगरप्रमुख थापाले उक्त गाउँको विकासका लागि नैतिक तथा भौतिक सहयोग गर्नका लागि सदैब अग्रपङ्तिमा रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

पर्यटक भित्राउन ‘हाईकिङ’

भिमाद नगरपालिका ९ पाथर्दी सामुदायिक होम स्टेले मगर समुदायको मुख्य पर्व माघेसंक्रान्तीको अवसरमा पदयात्रा ‘हाईकिङ’ सम्पन्न गरेको छ ।

‘पर्यटन विकास तथा प्रवद्र्धनका लागि पदयात्रा’ नारा सहित भिमाद देखी पाथर्दी सम्मको (करिब १७ किलोमिटर) लामो पदयात्रा गत बिहिबार सम्पन्न गरेको हो ।

पछिल्लो समय बोयर गाउँ भनेर परिचित तनहुँको पाथर्दी गाउँमा पर्यटकहरुलाई निम्तो दिने र पाहुना भित्राउने लक्ष्य सहित हाईकिङको आयोजना गरिएको कार्यक्रम संयोजक तथा होमस्टेका अध्यक्ष शिव कुमार आलेले बताए । उनका अनुसार १ सय ५० बढिको सहभागिता रहेको उक्त हाईकिङको क्रममा सिद्धगुफा र मोहरिया क्षेत्रमा स्थानियले खाजा सहित अभिनन्दन गरेका थिए ।

उक्त पदयात्रामा (हाईकिङ) गण्डकी प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री किरण गुरुङ, भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापा, भिमाद ९ का वडा अध्यक्ष ईमान बहादुर थापा, राजनैतिक व्यक्तित्वहरु तथा स्थानियहरुको उपस्थिति रहेको थियो । भिमाद नगरपालिकाको संरक्षकत्वमा सम्पन्न उक्त कार्यक्रममा पाथर्दी गाउँ विकासको निम्ति व्यवसायी दिल बहादुर थापाले ५ लाख समेत सहयोग गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.