www.tandavnews.com
Fact ~ In search of truth

मनाङको डढेलो निभाउन ‘फायर लाइन’

मनाङ ।

मनाङ जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।

Batas

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए । हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।

पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मंसिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।

वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताउनुभयो । अहिले बस्ती सुरक्षित छ । ‘वन र वन्यजन्तु जोगाउन सकिएन ।’उनले भने

यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी संकलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिए । घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मंगलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मंगलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।

‘फायर लाइन’ बनाएर नियन्त्रण

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ बनाएर नियन्त्रणको प्रयास थालिएको थियो ।

फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।

के हो अग्निरेखा

आगोलाई नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै अग्नि रेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करीव १०० मिटर वरबाट आगो अएको दिशा तर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुबै तर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलना नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताए । एक्यापको संरक्षकत्वमा रहेको जङ्गलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।

सशस्त्रको विपद् व्यवस्थापन टोलीको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक होमनाथ पन्थी यस क्षेत्रको आगलागी नियन्त्रण मानवीय स्रोतबाट मात्र सम्भव नरहेको हुनाले आवश्यक सामाग्रीको व्यवस्थापन हुनुपर्ने बताए ।

मानव बस्तीदेखि घरपालुवा जनावरको सुरक्षा र आवश्यक चरण क्षेत्रको सुरक्षाका लागि तत्काल जोगाउन सफल भए पनि वन क्षेत्र भने जोकाउन नसक्नु भौगोलीक बिकटता र स्रोत साथानको अभाव भएको उहाँले जानकारी दिए ।

जोगिएन वन

भौगोलिक विकटता र प्रशासनको समयमा ध्यान नपुग्दा यस क्षेत्र अन्तर्गतका महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने भएका छन् । यस क्षेत्र अन्तर्गत निरमसी, पाँच औँले, जटामसी, कुट्कीलगायतका जडीबुटी डढेलोले सखाप पारेको छ । घोराल, झारल कस्तुरी मृगलगायत महत्वपूर्ण वन्यजन्तुको बास्थानसमेत हराएको छ । कति मरे र कती घाइते छन् भन्ने एकीन छैन । ठूलो परिणममा आगजानी हुँदा यस क्षेत्रका महत्पूर्ण जीवजन्तु लोपहुने अवस्था देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

हाल आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म अन्नपूर्ण संरक्षण क्षेत्रले हेरालु राखेको छ भने जिल्ला प्रसासनले दैनिक निगरानी राखेको प्रजिअ लामिछानेले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.