www.tandavnews.com
Fact ~ In search of truth

पीएम कपः प्रदेश १ विरुद्धको खेलमा गण्डकी विजयी

पोखरा ।

चौँथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो ।

Batas

गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाए। यसक्रममा उनले पाँच चौका हाने । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिए । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाए ।

यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिए।

विशाल पौडेलको ह्याट्रिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उहाँले आफ्नो सातौँ ओभर तथा प्रतियोगिताको २८ औँ ओभरमा प्रदेश १ का तीन खेलाडीलाई लगातार पेभेलियन फर्काएका हुन् ।

पौडेलले खेलको २८औँ ओभरको दोस्रो बलमा राजन मगरलाई चार रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौंथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पेभेलियन फर्काए । हाल जारी चौथो संस्करणको प्रधानमन्त्री कपमा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । पौडेलले ६ दशालव ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो ।

वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमको अवस्था अत्यन्त कमजोर रहेको छ । सुदूरपश्चिमले केही बेरअघि ६ ओभरमा पाँच विकेट गुमाएर मात्र १८ रन बनाएको छ । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.