www.tandavnews.com
Fact ~ In search of truth

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् ।

नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

Batas

प्रधानमन्त्री ओलीले भने,‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे ।

उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।’

कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.