पोखरा,
ताण्डव न्यूज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने नभएको भन्दै व्यंग्य गरेका छन् ।
आफू पक्षीय प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको बताए ।‘हामी आक्रोश, आवेग, प्रतिशोधमा छैनौं । हामी रातो झण्डा फहराउने हो, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौं,’ ओलीले भने, ‘हामी सडकमा रातो झण्डा बोक्ने हौं, कालोझण्डा बोक्ने होइनौं । हामी रातो, उज्यालो भविष्यतिर छौं, हामी कालो, अँध्यारो गन्तव्यतिर छैनौं । हामी गन्तव्यमा स्पष्ट छौं ।’ मान्छेको अन्तिम गन्तव्य सुख भएकाले सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएको प्रधानमन्त्री ओलीले बताए ।
लोकतान्त्रिक विधिलाई सही दिशामा लैजाने उनको भनाई छ । ‘हामीले जिम्मेवारी पूर्वक राजनीतिक लडाईँ जारी राखेका छौँ, भयरहीत वातावरणमा सुखी नेपाली समृद्ध नेपाल को यात्रामा अघि बढिरहेका छौँ’ उनले भने ।पत्रकारहरुले आफ्नो क्षमताको प्रयोग सही ढंगले गर्नुपर्नेमा ओलीले जोड दिए ।
उनले भने “पीत पत्रकारिताबाट सावधान” । राम्रो कुरा बोल्दै नबोल्ने, लेख्दै नलेख्ने केही मिडियाहरुले राष्ट्रको हित विपरित काम गरिरहेको उनको आरोप छ । पत्रकारिताको धर्म बचाउने जिम्मेवारी प्रेस संगठनमा आवद्ध पत्रकारहरुको भएको समेत प्रधानमन्त्री ओलीले बताए ।
भारतीय न्यूज च्यानललाई आफूले दिएको अन्र्तवार्तामा खोट लगाउने कुनै ठाउँ नपाएपछि सगरमाथाको विषयलाई लिएर देशभक्तिमाथि धावा बोलिएको बताए । उनले भने ‘भारतले सगरमाथा खान्छु भनेको छैन’ । जनतालाई झुक्याउने तत्वबाट सजग गराउन प्रेसको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्री ओलीले बताए । संसदलाई सांसद किनबेचको थलो बनाउने प्रयास सफल हुन नदिने उनको भनाई छ ।
प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेला काठमाण्डौमा जारी रहेको छ । भेलालाई अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सम्बोधन गरिसकेका छन् ।
भेलामा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा रक्षामन्त्री ईस्वर पोखरेल, नेकपा सचिव विष्णु पौडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेश काउन्सीलका कार्यवहाक अध्यक्ष गोपाल बुढाथोकी लगायत सहभागी छन् । भेलामा प्रेस संगठनमा आवद्ध ७७ वटै जिल्लाका प्रतिनधिहरु राष्ट्रिय सभागृहमा राष्ट्रिय सभागृहमा भेला भएका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।