www.tandavnews.com
Fact ~ In search of truth

छ महिनामा साढे छ खर्बको आयात

काठमाडौं ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्यांक अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको छ महिनाको तथ्यांक अनुसार छ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

Batas

यसैगरी, ६ महिनाको अवधिमा साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांक अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।

हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्यांक अनुसार ६ महिनामा सात खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले छ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो ।

चालू आर्थिक वर्षको ६ महिनाको तुलनामा पुस महिनामा मात्र रु एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले एक खर्ब ८७ अर्ब राजश्व संकलन गरिसकेको छ । यो वर्ष विभागले रु चार खर्ब ४० अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

यसैगरी, कात्तिक महिनामा एक खर्ब १० अर्ब २२ करोड, मंसिर महिनामा एक खर्ब २३ अर्ब एक करोड र पुस महिनामा सबैभन्दा धेरै एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ ।

छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । छ महिनामा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.